बेलौरी,०२ पौष । नेकपा एमाले बेलौरी नगर कमिटीले उखु किसानले सरकारबाट पाउने अनुदान रकम यथाशीघ्र निकासा गर्न सरकार समक्ष जोडदार माग गरेको छ ।
सोमबार नेकपा एमाले बेलौरी नगर कमिटी अध्यक्ष बाबुराम न्यौपानेको अध्यक्षतामा भएको बैठकमा केन्द्रीय सल्लाहकार परिषद् सदस्य यज्ञ कंडेल, केन्द्रीय संसदीय विभाग सदस्य तथा प्रतिनिधिसभा सदस्य तारालामा तामाङ, जिल्ला कमिटी कार्यबाहक अध्यक्ष लक्ष्मी बुढा, प्रदेश कमिटी सदस्य रामबहादुर स्वर्णकार, करमसाय राना, चित्रकुमारी चौधरी, जिल्ला कमिटी सचिव पल्लबराज भट्ट लगायतको उपस्थिति थियो ।
नेकपा एमाले बेलौरी नगर कमिटीको बैठकबाट नगर कमिटी अध्यक्ष बाबुराम न्यौपानेले प्रेस विज्ञप्ति जारी गर्दै बेलौरीको महाकाली सुगर मिलसम्म किसानको उखु ढुवानी गरेर लैजान बाटो निर्माण गर्न बैठकमार्फत सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको जानकारी दिदै ।बैठकले किसानले वर्षाैंदेखि भोगचलन गर्दै आएको जमिनको जग्गाधनीपूर्जा वितरण गर्दा सहुलियत दरको राजस्व निर्धारण गर्न र जग्गा नापजाँच कार्यलाई छिटोभन्दा छिटो अगाडि बढ्ने व्यवस्था गर्न माग गरेको र जाजरकोट भूकम्प पीडितका लागि राहत पठाउने निर्णय समेत गरेको छ ।आरक्षपीडितको यथाशीघ्र पुनःस्थापना गर्न, किसानले समयमै मल र बजार पाउने सुनिश्चितता गर्न,बेलौरी–कलुवापुर–नाइल सडक निर्माण कार्य तत्काल गराउन र पचुई क्षेत्रको हुलाकी सडक लगायतको सीमा समस्या समाधान गर्न बैठकले माग गरेको छ । बैठकले पौष ६ गते बेलौरी नगरपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधिको दायित्वबोध प्रशिक्षण गर्ने, पौष २१ र २२ गते पार्टी नगरस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने तयारी गरेको समेत प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।
प्रतिक्रिया दिनुहोस