माधब पौडेल २२ असोज। कञ्चनपुरको बेलौरीमा चौंथो बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला आयोजनाको बारेमा बिहीबार पत्रकार सम्मेलन गर्दै यही कार्तिक ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने महोत्सवको तयारीबारे जानकारी दिएको छ।

पत्रकार सम्मेलनमा उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाशराज पन्त, निवर्तमान अध्यक्ष हिरासिंह विष्ट, पूर्व अध्यक्षहरू आत्मराम दाहाल र टेकबहादुर साउद लगायत संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
बेलौरी क्षेत्रको विकास र बजारलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाशराज पन्तले जानकारी दिनुभयो। अध्यक्ष पन्तले महोत्सवमार्फत स्थानीय कृषि, उद्योग, व्यापार, होटल व्यवसाय तथा स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरण गरिने आयोजकले जनाएको छ। महोत्सवमा कृषि प्रदर्शनी, व्यापारिक तथा औद्योगिक स्टल, होटल तथा पर्यटन व्यवसायसँग सम्बन्धित गतिविधि लगायतका कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो।
महोत्सवको मुख्य आकर्षणका रूपमा स्थानीय कलाकारदेखि राष्ट्रिय स्तरका कलाकारसम्मको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। स्थानीय कला, संस्कृति र प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय कलाकारसँगै स्थानीय कलाकारलाई विशेष प्राथमिकता दिइने बताइएको छ।महोत्सवमा प्रवेशका लागि सर्वसाधारणका लागि रु. १०० र विद्यार्थीका लागि रु. ७५ शुल्क निर्धारण गरिएको छ। ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको उद्योग वाणिज्य संघका महासचिव रामेश्वर न्यौपानेले जानकारी दिनुभयो।
आयोजकका अनुसार महोत्सवका कार्यक्रमहरू दैनिक बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।महोत्सव सञ्चालनका लागि करिब रु. ३५ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ भने महोत्सवबाट रु. ४० लाखसम्म आम्दानी हुने अपेक्षा गरिएको छ।महोत्सवमा आउने दर्शक तथा सहभागीको सुरक्षालाई समेत प्राथमिकतामा राखिएको छ। सुरक्षा व्यवस्थाका लागि सीसी क्यामेरा जडान, सेक्युरिटी गार्ड परिचालन तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरिने आयोजकले जनाएको छ।
आयोजकले बेलौरीमा आयोजना हुन लागेको महोत्सवलाई केवल मनोरञ्जनमा सीमित नराखी स्थानीय कृषि उत्पादन, व्यवसाय, उद्योग, पर्यटन र कला–संस्कृतिको प्रवर्द्धन गर्ने अवसरका रूपमा उपयोग गर्ने जनाएको छ। स्थानीय उत्पादन तथा व्यवसायलाई बजारसँग जोड्न र क्षेत्रको पर्यटन सम्भावनालाई थप उजागर गर्न महोत्सवले सहयोग पुग्ने अपेक्षा गरिएको छ।पत्रकार सम्मेलनमा आयोजकले महोत्सवलाई सभ्य, भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न स्थानीयवासी, व्यवसायी, उद्योगी, कृषक, राजनीतिक दल, संघसंस्था तथा सम्पूर्ण सरोकारवालालाई सहयोग र सहभागिताका लागि आग्रह गरेको छ।आयोजकका अनुसार महोत्सवले बेलौरीको आर्थिक तथा सामाजिक गतिविधिलाई चलायमान बनाउनुका साथै स्थानीय प्रतिभा, उत्पादन र पर्यटनलाई व्यापक रूपमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस