२०८३ मंसिर ६, आईतबार | Sun, 22, Nov, 2026

बेलौरीमा तीनदिने अग्नि नियन्त्रण तथा उद्धारसम्बन्धी तालिम सम्पन्न


  • २०८३ कार्तिक २९, आईतबार मा प्रकाशित १ हफ्ता अघि
  • २२९ पाठक संख्या
  • माधव पौडेल, २९ कार्तिक। कञ्चनपुरको बेलौरी नगरपालिकाको आयोजनामा अग्नि नियन्त्रण तथा उद्धारसम्बन्धी तीनदिने तालिम सम्पन्न भएको छ। तालिममा कञ्चनपुर जिल्लाका सातवटा स्थानीय तहका २१ जना सहभागीलाई अग्नि नियन्त्रण, विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी तालिम आइतबार सम्पन्न भएको छ।कार्यक्रमको सभापति बेलौरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश उपाध्याय, प्रमुख विपद् व्यवस्थापन समितिका संयोजक कृष्णभान बराई, विशिष्ठ अतिथि तालिम वरिष्ठ अग्नि नियन्त्रक तथा उद्धार प्रशिक्षक किशोर कुमार भट्टराई, पुनर्वास नगरपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति ओम ढकाल, लालझाडी गाउँपालिकाका विपद् सम्पर्क व्यक्ति हेमराज उपाध्याय,लगायत नेपाल रेडक्रस सोसाइटी बेलौरी शाखाका सभापति विष्णु प्रसाद तिवारी लगायत इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी वरिष्ठ नायब निरीक्षक वीर सिंह धामी रहनुभएको थियो।तालिममा बेलौरी, पुनर्वास, कृष्णपुर, शुक्लाफाँटा, बेदकोट र दोधारा चाँदनी नगरपालिका तथा लालझाडी गाउँपालिकाबाट सहभागी प्रशिक्षार्थीलाई काठमाडौं महानगरपालिकाका वरिष्ठ अग्नि नियन्त्रक तथा उद्धार प्रशिक्षक (महानगर प्रहरी नायब उपरीक्षक) किशोरकुमार भट्टराईले प्रशिक्षण दिनुभएको हो।

    तालिममा आगलागी नियन्त्रण, विपद्का समयमा अपनाउनुपर्ने सावधानी, उद्धारका विधि तथा आपत्कालीन व्यवस्थापनसम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो। साथै, अग्नि नियन्त्रण तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्याससहित प्रत्यक्ष डेमो प्रदर्शनसमेत गरिएको बेलौरी नगरपालिका विपद् व्यवस्थापन समितिका फोकल पर्सन अशोक पाण्डेले जानकारी दिनुभयो।तालिमबाट प्राप्त ज्ञान, सीप तथा अनुभवका विषयमा दोधारा चाँदनी नगरपालिकाका प्रशिक्षार्थी नरेन्द्र सिंह बुढा र बेलौरी नगरपालिकाका प्रशिक्षार्थी पदम डगौराले आफ्नो धारणा राख्नुभएको थियो। उहाँहरूले अग्नि नियन्त्रण तथा उद्धारसम्बन्धी तालिमबाट आगलागी नियन्त्रण, जोखिम न्यूनीकरण तथा आपत्कालीन अवस्थामा उद्धार गर्ने तरिकाबारे महत्त्वपूर्ण ज्ञान र सीप सिक्ने अवसर पाएकोमा खुसी व्यक्त गर्नुभयो। साथै, तालिमले विपद्का समयमा प्रभावकारी रूपमा परिचालित हुन थप आत्मविश्वास प्रदान गरेको बताउनुभयो।कार्यक्रममा बोल्दै वरिष्ठ अग्नि नियन्त्रक तथा उद्धार प्रशिक्षक किशोर कुमार भट्टराईले अग्नि नियन्त्रण तथा उद्धारसम्बन्धी तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा प्रभावकारी रूपमा उतार्न सके आगलागीका घटनामा समयमै उचित निर्णय लिई नियन्त्रण तथा उद्धार कार्य गर्न सकिने बताउनुभयो। उहाँले विपद्का बेला संयमित हुँदै आफ्नो ध्यान केन्द्रित गरेर सिकेका सीपको सही प्रयोग गर्न सके मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुग्ने उल्लेख गर्नुभयो। साथै, तालिममा सिकेका कुरालाई अभ्यास र व्यवहारमा निरन्तर प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो।कार्यक्रमको समापनमा बोल्दै  सभापति एवं बेलौरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश उपाध्यायले अग्नि नियन्त्रण तथा उद्धारसम्बन्धी तालिमले विपद् व्यवस्थापनमा स्थानीय तहको क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले आगलागीजस्ता विपद्का घटनामा तत्काल परिचालित भई प्रभावकारी रूपमा नियन्त्रण तथा उद्धार कार्य गर्न तालिमबाट प्राप्त ज्ञान र सीप उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो। साथै, तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्दै विपद् जोखिम न्यूनीकरण र समुदायको सुरक्षाका लागि जिम्मेवार भएर लाग्न सहभागीहरूलाई आग्रह गर्नुभयो।

    तालिमले स्थानीय तहमा विपद् उद्धारका लागि दक्ष जनशक्ति तयार गर्नुका साथै आगलागी, प्राकृतिक प्रकोप तथा अन्य आपत्कालीन घटनामा तत्काल उद्धार कार्य सञ्चालन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।यसबाट सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरणमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रमको सहजीकरण बेलौरी नगरपालिका विपद् व्यवस्थापन समितिका फोकल पर्सन अशोक पाण्डेले गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑