
माधब पौडेल,२१ असार।कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ टेडुवामा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमद्वारा सम्झौता बहुउद्देश्यीय सहकारी संस्थामार्फत धानको चक्लाबन्दी विकास कार्यक्रम अन्तर्गत बीउ उत्पादनमा आबद्ध बीउ उत्पादन समुहलाई आईतबार एक कार्यक्रमका बीच आधुनिक कृषि यन्त्र तथा उत्पादन सामग्री हस्तान्तरण गरेको छ।
बीउ उत्पादन समूहका संयोजक शंकर चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कञ्चनपुरका कार्यालय प्रमुख गोविन्दराज जोशी, कृषि अधिकृत ध्रुवराज जोशी, बेलौरी नगरपालिका कृषि विकाश शाखा प्रमुख सुमनराज जोशी,सम्झौता बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक राजेन्द्रबहादुर सिंह, सहकारीका सञ्चालक समिति तथा बीउ उत्पादनमा संलग्न कृषकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका कार्यालय प्रमुख गोविन्दराज जोशीका अनुसार आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रमअन्तर्गत कृषकलाई १ थान पावर टिलर, ५ थान मिनी टिलर, १ थान धान थ्रेसर, १ थान रोटाभेटर, १ थान लेभलर, ३ थान बोरिङ जडान, ६ थान विद्युतीय पानी तान्ने मोटर तथा ३ क्विन्टल ६० केजी डेलिभरी पाइपलगायतका कृषि सामग्री ५०%अनुदानमा हस्तान्तरण गरिएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथिका बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायिकीकरण र आत्मनिर्भर उत्पादनमा यस्ता कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँले किसानलाई उपलब्ध गराइएका कृषि यन्त्र–उपकरणको प्रभावकारी उपयोग गर्दै गुणस्तरीय धानको बीउ उत्पादनमा जोड दिन आग्रह गर्नुभयो।
कार्यक्रम अन्तर्गत १५ हेक्टर क्षेत्रफलमा धानको बीउ उत्पादन गर्ने लक्ष्य राखिएको छ। चक्लाबन्दी प्रणालीमार्फत आधुनिक प्रविधिको प्रयोग, उत्पादन लागतमा कमी, उत्पादकत्वमा वृद्धि तथा गुणस्तरीय बीउ उत्पादनलाई प्रोत्साहन गर्ने उद्देशले सामग्री हस्तान्तरण गरिएको सम्झौता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका व्यवस्थापन राजेन्द्र बहादुर सिंहले बताउनुभयो।
व्यवस्थापक सिंहका अनुसार सहकारीले बीउ उत्पादनमा संलग्न कृषक,समुहलाई आवश्यक धानको बीउ, मललगायत उत्पादन सामग्री उपलब्ध गराउँदै आएको छ। उत्पादनपछि कृषकबाट बजार मूल्यभन्दा बढी मूल्यमा धानको बीउ खरिद गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो। यस व्यवस्थाले कृषकलाई उत्पादनमा थप उत्साह मिल्नुका साथै गुणस्तरीय बीउ उत्पादनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
सार्वजनिक सुनुवाइमार्फत कार्यक्रमको प्रगति, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे जानकारी गराइएको थियो। कार्यक्रममा सहभागी कृषकहरूले उपलब्ध गराइएका कृषि सामग्रीले धानको बीउ उत्पादनमा सहजता ल्याउनुका साथै उत्पादन लागत घटाउन र उत्पादकत्व वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। यस्ता कार्यक्रमले कृषकको आयआर्जन वृद्धि गर्दै व्यावसायिक कृषि प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने उनीहरूको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस