माधव पौडेल, २५ असार।बेलौरी उद्योग वाणिज्य संघको चौथो कार्यकारिणी समितिका नवनिर्वाचित पदाधिकारीहरूको सपथग्रहण तथा पदस्थापन कार्यक्रम बिहीबार सम्पन्न भएको छ। गत शनिबार सम्पन्न पाँचौं साधारण सभाबाट सर्वसम्मत रूपमा निर्वाचित अध्यक्ष प्रकाशराज पन्तसहित सम्पूर्ण पदाधिकारीले पद तथा गोपनीयताको सपथ लिएसँगै नयाँ कार्यसमितिले औपचारिक रूपमा जिम्मेवारी सम्हालेको हो।
स्वागत मन्तव्य व्यक्त गर्दै निवर्तमान उद्योग उपाध्यक्ष विजयालक्ष्मी श्रेष्ठले बेलौरी उद्योग वाणिज्य संघ व्यवसायीहरूको साझा संस्था भएकाले यसको गरिमा, एकता र सक्रियतालाई सबैले मिलेर अझ सुदृढ बनाउनुपर्ने बताउँदै नयाँ नेतृत्वले व्यवसायीहरूको अपेक्षाअनुसार काम गर्दै स्थानीय उद्योग, व्यापार र उद्यमशीलताको विकासमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। साथै, निवर्तमान कार्यसमितिलाई आफ्नो तर्फबाट सदैव सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।
प्रमुख निर्वाचन अधिकृत नारायण सिंह ऐरीले अध्यक्ष प्रकाशराज पन्त, वरिष्ठ उपाध्यक्ष महेन्द्र सिंह बडाल, उद्योग उपाध्यक्ष राजेन्द्रबहादुर चन्द, वाणिज्य उपाध्यक्ष वसन्त पुन मगर, महासचिव रामेश्वर न्यौपाने, सचिव रिता चौधरी तथा सदस्यहरू कैलाश सिंह बिष्ट, यमबहादुर खत्री, विष्णुमाया अर्याल, बासुदेव भट्ट ‘शीतल’, दिनेश चौधरी, अलोना श्रेष्ठ, तारा सिंह बिष्ट र अशोक चौधरीलाई पद तथा गोपनीयताको सपथ गराउँदै पदस्थापन गराउनुभयो।सपथग्रहणपछि प्रमुख निर्वाचन अधिकृत ऐरीले सर्वसम्मत निर्वाचनले संघभित्रको एकता, आपसी विश्वास र व्यवसायीहरूको परिपक्व लोकतान्त्रिक संस्कृतिलाई उजागर गरेको बताउनुभयो। उहाँले नवनिर्वाचित कार्यसमितिलाई व्यवसायीहरूको हितमा प्रभावकारी ढंगले काम गर्न शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष प्रकाशराज पन्तको अध्यक्षता, बेलौरी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन ढकालको प्रमुख आतिथ्यता तथा निवर्तमान अध्यक्ष हिरा सिंह विष्टको विशिष्ट आतिथ्यता रहेको थियो। कार्यक्रममा संस्थापक आत्मराम दाहाल, पूर्वअध्यक्षहरू धनेशदत्त पन्त, टेकबहादुर साउद, लक्ष्मीनारायण चौधरी, निवर्तमान उद्योग उपाध्यक्ष विजयालक्ष्मी श्रेष्ठल,निर्वतमान महासचिव गोविन्द प्रसाद सापकोटा,लगायत उद्योगी व्यवसायीहरूको उपस्थिति रहेको थियो।

सपथग्रहणपछि प्रमुख निर्वाचन अधिकृत नारायण सिंह ऐरीले सर्वसम्मत निर्वाचनले व्यवसायीबीचको एकता, आपसी विश्वास र लोकतान्त्रिक संस्कृतिलाई थप मजबुत बनाएको बताउँदै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि एवं निवर्तमान अध्यक्ष हिरा सिंह विष्टले आफ्नो कार्यकालमा व्यवसायीहरूको हितका लागि गरिएका प्रयासलाई नयाँ नेतृत्वले अझ प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले संघको गरिमा, एकता र संस्थागत विकासलाई निरन्तर प्राथमिकतामा राख्न आग्रह गर्दै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिनुभयो।
प्रमुख अतिथि तथा बेलौरी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन ढकालले निजी क्षेत्र स्थानीय आर्थिक विकासको प्रमुख साझेदार भएको उल्लेख गर्दै उद्योग वाणिज्य संघ र स्थानीय सरकारबीचको सहकार्यलाई अझ मजबुत बनाइने बताउँदै उहाँले व्यवसायीका समस्या समाधान, लगानीमैत्री वातावरण निर्माण तथा उद्यमशीलता प्रवर्द्धनमा नगरपालिका सधैं सहकार्य गर्न तयार रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष प्रकाशराज पन्तले संघप्रति व्यवसायीहरूको विश्वासलाई उच्च सम्मानका साथ ग्रहण गर्दै उद्योगी–व्यवसायीको हकहित संरक्षण, स्थानीय व्यापार प्रवर्द्धन गर्नका लागि संघलाई अझ सक्रिय र उत्तरदायी संस्थाका रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो।बेलौरी उद्योग वाणिज्य संघलाई आजको अवस्थासम्म पुर्याउन योगदान गर्ने संस्थापक, पूर्व अध्यक्षहरू, पूर्व पदाधिकारी, सदस्य तथा सम्पूर्ण उद्योगी–व्यवसायीप्रति कृतज्ञता व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी संस्थापक तथा पुर्व अध्यक्षहरुले पनि नयाँ नेतृत्वले व्यवसायीहरूको साझा हित, स्थानीय उद्योग–व्यापारको विकास तथा संघको संस्थागत सुदृढीकरणमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।निर्वाचन मण्डलमा विष्णुप्रसाद तिवारी र शेरबहादुर बिष्ट सदस्य रहनुभएको थियो।बेलौरी उद्योग वाणिज्य संघको पाँचौं साधारण सभाअन्तर्गत चौथो कार्यकारिणी समितिको निर्वाचन गत शनिबार सर्वसम्मत रूपमा सम्पन्न भएको थियो।
प्रतिक्रिया दिनुहोस