बेलौरी, ०१जेष्ठ।कञ्चनपुरको बेलौरीमा ईशान मेमोरियल अस्पतालद्वारा “स्वास्थ्य नागरिक समृद्धि समाज”भन्ने मूल नाराका साथ बिहिबार बेलौरी नगरपालिका वडा नं ५ को शोभातालमा आयोजना गरिएको शिविरमा सयौँ नागरिकले सेवा लिएका छन्।
शिविरमा सहभागी बिरामीहरूलाई निःशुल्क स्वास्थ्य परीक्षण, विशेषज्ञ परामर्श, ल्याब परीक्षण तथा आवश्यक औषधि वितरण गरिएको थियो।अस्पतालका अनुसार औषधिमा करिब २ लाख ५० हजार रुपैयाँ र रक्त परीक्षणमा ५७ हजार रुपैयाँ बराबरको सेवा निःशुल्क प्रदान गरिएको इशान मेमोरियम अस्पताल बेलौरीका एचआर मदन भण्डारीले जानकारी दिनुभयो।

कार्यक्रमको प्रमुख अतिथि वडा नम्बर ५ का अध्यक्ष लाल बहादुर चौधरी,अतिथिमा अस्पतालका प्रबन्ध निर्देशक पूजा भट्ट, डा. जाफिर आलम लगायतको उपस्थिति रहेको थियो।सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रम प्रभावकारी र सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ। अस्पतालले विगतदेखि नै यस्ता सामाजिक कार्यहरू गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
अस्पतालका अध्यक्ष आई जंग कुँवरले समुदायको समग्र स्वास्थ्य अवस्था सुधार गर्न अस्पताल निरन्तर प्रतिबद्ध रहेको बताउँदै यस्ता निःशुल्क स्वास्थ्य शिविरहरूलाई आगामी दिनमा अझै व्यवस्थित, प्रभावकारी र व्यापक रूपमा विस्तार गर्ने योजना रहेको उल्लेख गर्नुभयो। उहाँले ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच अझै चुनौतीपूर्ण रहेको सन्दर्भमा यस्ता कार्यक्रमले स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभ पुगेको उल्लेख गर्दै भविष्यमा विशेषज्ञ सेवा, आवश्यक औषधि तथा परीक्षण सुविधासहित थप सशक्त कार्यक्रम सञ्चालन गरिने धारणा व्यक्त गर्नुभयो।
प्रतिक्रिया दिनुहोस