माधव पौडेल,१४ भाद्र।कञ्चनपुरको बेलौरीमा सञ्चालित दुईदिने निःशुल्क आँखा शिविरमा १ हजार २ जनाले आँखा सम्बन्धी सेवा लिएका छन्। शिविरमा परीक्षणसँगै चश्मा वितरण र आँखाको शल्यक्रियासमेत गरिएको छ।
नेपाल नेत्र ज्योति सङ्घ, गेटा आँखा अस्पताल कैलाली र बेलौरी नगरपालिकाको संयुक्त आयोजनामा तथा श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रको समन्वयमा भदौ १३ र १४ गते सञ्चालन गरिएको शिविरमा उपचारका लागि ठूलो संख्यामा स्थानीय नागरिक सहभागी भएका थिए।
शिविरको पहिलो दिन ५ सय ६१ जनाले आँखा परीक्षण तथा उपचार सेवा लिएका थिए। जसमध्ये १ सय ६० जनालाई चश्मा वितरण गरिएको थियो भने ४७ जनाको शल्यक्रिया गरिएको थियो।त्यस्तै, दोस्रो दिन ४ सय ४१ जनाले सेवा लिएका थिए। सो दिन २ सय २० जनालाई चश्मा वितरण गरिएको थियो भने ७१ जनाको शल्यक्रिया सम्पन्न भएको आयोजकले जनाएको छ।
दुई दिनको अवधिमा ३ सय ८० जनालाई चश्मा वितरण गरिएको छ भने १ सय ३१ जनाको शल्यक्रिया सम्पन्न भएको गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक नरेन्द्र विष्टले जानकारी दिनुभयो।शिविरमा विशेषगरी आँखाको समस्या भएका ज्येष्ठ नागरिकसहित विभिन्न उमेर समूहका नागरिकले सेवा लिएका थिए।

डाक्टर कृपा भट्टराईको नेतृत्वमा १२ सदस्यीय स्वास्थ्यकर्मीको टोलीले शिविरमा सेवा प्रदान गरिरहेको छ। टोलीले आँखा परीक्षण, रोग पहिचान, उपचार, औषधि तथा चस्मा वितरणसँगै आवश्यक बिरामीको शल्यक्रियासमेत गरेको थियो।स्थानीयस्तरमै विशेषज्ञ आँखा उपचार सेवा उपलब्ध भएपछि आर्थिक तथा भौगोलिक कारणले अन्यत्र गएर उपचार गराउन कठिनाइ भोगिरहेका नागरिकलाई ठूलो राहत पुगेको छ।
प्रतिक्रिया दिनुहोस