२०८२ माघ ९, शुक्रबार | Fri, 23, Jan, 2026

सरकारले समयमै उखुको समर्थन मूल्य नतोक्दा उखु उत्पादक अगुवा किसानहरू आन्दोलनको तयारीमा 


  • २०८२ मंसिर १२, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • १७९ पाठक संख्या
  • हरिश्चन्द्र बाग, कञ्चनपुर, १२ मङ्सिर । देशभरका उखु उत्पादक अगुवा किसानहरू आन्दोलनको तयारीमा हुनुहुन्छ । संघीय सरकारले चिनी उद्योगमा उखु विक्री गरेका किसानहरूलाई दिने भनेको अनुदान बापतको बाँकी रकम भुक्तानी नगरेको र समयमै समर्थन मूल्य नतोकेकोले नेपाल उखु उत्पादक महासङ्घको आह्वानमा देशभरका उखु उत्पादक अगुवा किसानहरू आन्दोलनको तयारीमा लाग्नु भएको छ ।

    यसअघि नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योगी तथा किसानबीच बारम्बार वार्ता भए पनि कार्यान्वयन नभएको भन्दै महासङ्घले पुनः आन्दोलन आह्वान गरेको हो । उखु उत्पादक अगुवा किसानहरूले यही मङ्सिर १३ गतेभित्र उखुको न्यूनतम समर्थन मूल्य तोक्न र गत आर्थिक वर्ष २०८१।०८२ को बाँकी अनुदान रकम भुक्तानी गर्न यसअघि नै सरकारलाई चेतावनी सहित ज्ञापन पत्र बुझाइसकेका छन् ।

    सरकारलाई हालसम्म कुनै पनि प्रतिक्रिया नदिएकोले अब किसानहरू यही मङ्सिर १४ गते सर्लाहीको हरिवनमा जम्मा भएर पहिलो दिन एक घण्टा पूर्वपश्चिम राजमार्ग बन्द गर्ने र त्यसको भोलिपल्ट यही मङ्सिर १५ गतेबाट अनिश्चितकालीन राजमार्ग बन्दसहित विरोध प्रदर्शन गर्ने कार्य तालिका रहेको उखु उत्पादक किसान हकहित संरक्षण समिति कञ्चनपुरका अध्यक्ष हरि चन्द ठकुरीको भनाइ छ ।

    बिहीबार कञ्चनपुरको बेलौरीमा बसेको उखु किसानहरूको बैठकले चालु आर्थिक वर्षमा उखुको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ७ सय ५० रुपैयाँ तोक्नुपर्ने माग अघि सारेको छ । यसका साथै सरकारले गत वर्षको बाँकी अनुदान भुक्तानी गर्नुपर्ने र नयाँ अनुदान कम्तीमा पनि प्रति क्विन्टल ७० रुपैयाँका दरले दिनु पर्ने दबाब सिर्जना गर्ने सहमति भएको छ । उहाँहरूले चिनी उद्योग सञ्चालन हुनुभन्दा अगाडि नै मूल्य तोक्नुपर्नेमा जोड दिनु भएको छ । मूल्य नतोक्दासम्म उखु नकाट्न सबै किसानहरूलाई उखु उत्पादक किसान हकहित संरक्षण समिति कञ्चनपुरले अनुरोध गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट