माधब पौडेल,११ मङ्सिर। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ५ र ९ मा निड्स नेपालको आयोजनामा माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दरपुरको प्राविधिक सहयोग तथा BMZ/KKS जर्मनीको आर्थिक सहकार्यमा मङ्सिर १० र ११ गते दुईदिने निःशुल्क माटो परीक्षण शिविर सम्पन्न भएको छ।
कार्यक्रमको सभापति बेलौरी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लालबहादुर चौधरी,अतिथिमा माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दरपुरका सहायक माटो विज्ञान अधिकृत होमप्रसाद न्युरे लगायत वडा सदस्य,कृषकको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दरपुरका सहायक माटो विज्ञान अधिकृत न्युरेले वैज्ञानिक परीक्षणबिनाको मल प्रयोगले माटो बिग्रने खतरा बढ्दै गइरहेको बताउँदै माटोको अवस्था थाहा नपाई गरिने मल प्रयोगले उत्पादन नबढ्ने बताउनुभयो।आवश्यकता भन्दा बढी रासायनिक मलको प्रयोगले जमिन नै खराब बनाउँछ र परीक्षणपछि दिइने सिफारिस अनुसार खेती गरे किसानको आम्दानी बढ्छ र माटो दीर्घकालसम्म स्वस्थ रहने समेत सहायक माटो विज्ञान अधिकृत न्युरेले जानकारी दिनुभयो।
कार्यक्रमको समापनमा बोल्दै बेलौरी नगरपालिकाका वडा नम्बर ५ का वडाध्यक्ष लालबहादुर चौधरीले हामीले प्रयोग गर्ने रासायनिक मलले मानविय जीवनमा हरेक किसिमका रोगहरुले आक्रमण गरिरहेको बताउँदै माटो परीक्षणपछि गरिने खेतीले उत्पादन पनि बढ्ने र किसानको भविष्य पनि सुरक्षित बनाउनमा मद्दत पुग्ने बताउनुभयो।

शिविरमार्फत कृषकहरूबाट सङ्कलित गरिएको माटो नमूनाको परीक्षण गरी पोषणतत्त्वको अवस्था पत्ता लगाई उर्वराशक्ति मूल्यांकन गरी उत्पादन बढाइ खर्च घटाउनमा सहयोग पुग्ने निड्स नेपालका परियोजना संयोजक प्रेम बहादुर विकले जानकारी दिनुभयो।बुधबार सोही शिविरमा माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दरपुरका वरिष्ठ माटो वैज्ञानिक प्रकाश कुमार पन्तको टीमले बुधबार बेलौरी नगरपालिका वडा नम्बर ९ मा ५२ कृषकको माटो परीक्षण गरेको थियो भने बेलौरी नगरपालिका वडा नम्बर ५ मा ५० गरी १०२ जना कृषकको माटो परीक्षण गरिएको समेत परियोजना संयोजक विकले जानकारी दिनुभयो।
प्रतिक्रिया दिनुहोस