हरिश्चन्द्र बाग, कञ्चनपुर, ०४ बैशाख । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले देशको समृद्धि र विकासका लागि ठुला दुई दल मिल्न जरुरी रहेको बताउनु भएको छ । समुदायमा काँग्रेस अभियान अन्तर्गत हुलाकी राजमार्ग केन्द्रित संवाद यात्राका क्रममा कञ्चनपुरको बेलौरीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले देशको विकास गर्न काँग्रेस र एमालेबिच सहकार्य आवश्यक रहेको बताउनु भएको हो ।
त्यसै क्रममा, के एमालेसँग मिलेर नयाँ गठबन्धन बनाउने कसरतमा नेपाली काँग्रेस केन्द्रित भएको हो ? भन्ने पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै महामन्त्री थापाले सरकार गठनका लागि नभई देशको महत्त्वपूर्ण विषयलाई सम्बोधन गर्न काँग्रेस र एमालेका बिच सहकार्य आवश्यक रहेको प्रस्ट्याउनु भयो । अहिलेको सरकारलाई एक वर्षसम्म नचलाउने योजनामा काँग्रेस रहेको उहाँको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काँग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गरेको भन्ने कुरा निराधार हल्ला मात्रै रहेको काँग्रेस महामन्त्री थापाले बताउनु भयो । नेपाली काँग्रेसले कुनै व्यक्ति विशेषका सन्दर्भमा नभई सहकारी सम्बन्धी समस्याको समाधानका लागि संसदीय छानबिन समितिको माग गरेको उहाँको भनाइ छ ।
नेपाली काँग्रेसले पूर्वबाट सुरु गरेको हुलाकी राजमार्ग केन्द्रित ‘संवाद यात्रा’ आज कञ्चनपुर पुगेर सकिएको छ । त्यस क्रममा समुदायबाट प्राप्त विवरण र नागरिकका सुझाव तथा गुनासाहरूप्रति पार्टी र सरकारको ध्यानाकर्षण गराउने महामन्त्री थापाले बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस