माधब पौडेल / हरिश्चन्द्र बाग, ११ फागुन । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ मा शाखा कार्यालय रहेको निर्धन उत्थान लघुबित्त बित्तीय संस्थाले व्यावसायिक उखु खेती सम्बन्धी तालिम प्रदान गरेको छ । निर्धन नक्साल काठमाडौँको आयोजना निर्धन उत्थान लघुबित्त बित्तीय संस्था शाखा कार्यालय बेलौरीको संयोजनमा लालझाडी, बेल्डाँडी, बेलौरी र पुनर्वास नगरपालिका भित्र रहेका संस्थामा आबद्ध ३१ जना महिला सदस्यहरुलाई तीन दिवसीय तालिम दिइएको हो । बेलौरी नगरपालिका कृषि विकाश शाखाका प्रमुख सुमनराज जोशी लगायत ४ जनाको टिम र सफल कृषक आशरेराम बडायकले स्थलगत अवलोकन सहितको प्रशिक्षण दिनु भएको थियो ।
फागुन ९ गतेका दिन बेलौरी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन ढकालले उद्घाटन गर्नुभएको तालिम फागुन ११ गतेसम्म सञ्चालन गरिएको निर्धन उत्थान लघुबित्त बित्तीय संस्था बेलौरीका प्रमुख ध्रुबराज जोशीले जानकारी दिनुभयो । कञ्चनपुरको दक्षिणी क्षेत्रमा उखु खेती बढी गरिने भएकोले यस वर्ष उखु सम्बन्धी तालिम दिइएको उहाँको भनाइ छ । बिगतका वर्षमा संस्थाले बाख्रापालन, व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम प्रदान गरेको संस्था सहायक लोकेश अधिकारीले जानकारी दिनुभयो।
प्रतिक्रिया दिनुहोस