२०८१ फागुन २, शुक्रबार | Fri, 14, Feb, 2025

कञ्चनपुरमा बर्षाका कारण धानबाली भित्र्याउन नपाउँदा किसानहरू चिन्तित


  • २०७९ आश्विन २५, मंगलबार मा प्रकाशित २ साल अघि
  • ३६१ पाठक संख्या
  • माधब पौडेल ,बेलौरी २५ असोज । कञ्चनपुरमा समेत बुधबारदेखि सोमबारसम्म लगातार वर्षा हुँदा किसानले लगाएको धानबाली र घरहरूमा क्षति भएको छ । काटेर खेतमै राखेको र काट्न तयार भएको धानबाली वर्षाका कारण डुबानमा पर्दा कञ्चनपुरका किसानहरू मर्कामा परेका छन् । जीविकोपार्जनका लागि बेच्न र वर्षभरि खानका लागि खेतमा तयार भइरहेको धानबाली भित्र्याउन नपाउँदा किसानहरू चिन्तित बनेका छन् ।

    यस वर्षको धानबाली किसानहरूले लगभग २० प्रतिशत मात्रै भित्र्याउन पाएका छन् । बाँकी ८० प्रतिशत जति धानबाली डुबानमा परेको छ । त्यसमध्ये केही क्षेत्रमा डुबानमा परेको धानबाली पूर्ण रूपमा नष्ट भएको छ । वर्षभरि खानका लागि तयार भइरहेको धान वर्षाले सखाप पारेपछि राहतका लागि किसानहरूले सरकारसँग माग राखेका छन् । बेलौरी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूको टोलीले बाढी र डुबान ग्रस्त क्षेत्रको स्थलगत अनुगमन गरेको छ । अनुगमनका क्रममा बढी प्रभावित घरपरिवारलाई तत्कालको राहतका लागि त्रिपाल, खानेपानी तथा खाद्यान्न वितरण गरिएको छ । क्षतिको यकिन विवरण सङ्कलन गरी राहतका लागि कार्यपालिकाको बैठकमा छलफल गरिने र थप राहतका लागि प्रदेश तथा संघीय सरकारसँग माग गर्ने बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले बताउनुभयो। गत वर्ष असोज ३० देखि कार्तिक २ गते सम्मको अविरल वर्षाले पश्चिम तराईका थुप्रै किसानले काटेर भित्र्याउन मात्रै बाँकी रहेको धानबाली खेतमै उम्रिएर कुहिएको थियो । यस वर्ष पनि सोही परिस्थिति सृजना भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट