माधव पौडेल, बेलौरी, २३ जेठ। कञ्चनपुरको बेलौरीमा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित बेलौरी ब्याडमिन्टन क्लबको आयोजनामा सुदुर पश्चिम प्रदेश स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता शनिबार उद्घाटन भएको छ।

कार्यक्रमको सभापति क्लबका अध्यक्ष अशोक श्रेष्ठ, प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरी, बिशिष्ट अतिथआ बेलौरी नगर खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपाने, नाष्ट कलेज धनगढीका प्रबन्ध निर्देशक शिवहरि मुडभरी, चैतन्य पाठशालाका इन्चार्ज ईश्वर गिरी, लगायत खेलाडी, खेलप्रेमी तथा स्थानीय सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै बेलौरी ब्याडमिन्टन क्लबका सल्लाहकार संयोजक दिनेश कुँवरले खेलकुदको माध्यमबाट स्वस्थ समाज निर्माणसँगै युवाहरूलाई सकारात्मक गतिविधितर्फ उन्मुख गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै बेलौरी नगर खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपानेले खेलकुदले युवाहरूको क्षमता, अनुशासन र आत्मविश्वास अभिवृद्धि गर्ने उल्लेख गर्दै यस्ता प्रतियोगिताले स्थानीय स्तरमा लुकेर रहेका प्रतिभाहरूलाई उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै खेलकुद क्षेत्रको विकासका लागि नगर खेलकुद समिति सदैव सहयोगी रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै चैतन्य पाठशालाका इन्चार्ज ईश्वर गिरीले खेलकुद केवल प्रतिस्पर्धाको माध्यम नभई स्वस्थ, सभ्य र जिम्मेवार नागरिक निर्माण गर्ने महत्वपूर्ण आधार भएको बताउँदै शिक्षा र खेलकुदलाई सँगसँगै अघि बढाउन सके समग्र समाजको विकासमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो।
कार्यक्रममा बोल्दै नाष्ट कलेज धनगढीका प्रबन्ध निर्देशक शिवहरि मुडभरीले खेलकुदले व्यक्तिको शारीरिक तन्दुरुस्ती मात्र नभई मानसिक विकास, अनुशासन र नेतृत्व क्षमताको समेत विकास गर्ने बताउनुभयो। खेलकुदका कार्यक्रमलाई निरन्तरता सहयोग गर्दै आइरहेको बताउनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरीले खेलकुदले स्वस्थ समाज निर्माणका साथै युवाहरूमा अनुशासन, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावना विकास गर्ने बताउनुभयो। उहाँले स्थानीय तहले खेलकुद क्षेत्रको विकासका लागि आवश्यक सहयोग र प्रोत्साहनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको समापनमा बोल्दै सभापति तथा बेलौरी ब्याडमिन्टन क्लबका अध्यक्ष अशोक श्रेष्ठले बेलौरीमा ब्याडमिन्टन खेलप्रतिको आकर्षण बढ्दै गएको उल्लेख गर्दै खेलाडीहरूको क्षमता अभिवृद्धि र खेलकुद संस्कृतिको विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताउँदै प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगी,प्रायोजक तथा सहभागीप्रति आभार व्यक्त गर्नुभयो।
दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट ३२ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद रु. ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय हुने टोलीलाई नगद रु. २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा तृतीय हुने टोलीलाई नगद रु. १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्ने आयोजनाले जनाएको छ।उद्घाटन कार्यक्रमको सञ्चालन चिया ग्रुप बेलौरीका महासचिव अशोक पाण्डेयले गर्नुभएको थियो।
प्रतिक्रिया दिनुहोस