२०८३ भाद्र २६, शुक्रबार | Fri, 11, Sep, 2026

दोस्रो उप मेयर कप भलिबल प्रतियोगिताको उपाधी सल्यान ११ लाई


  • २०८३ भाद्र १५, सोमबार मा प्रकाशित १ हफ्ता अघि
  • ३३८ पाठक संख्या
  • बेलौरी, १५भाद्र। कंचनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ को जनज्योति माध्यमिक विद्यालय कलकत्तामा सम्पन्न दोस्रो खुल्ला उप मेयर कप भलिबल प्रतियोगिताको उपाधी सल्यान ११ले हात पारेको छ।दोस्रो उपमेयर  कप भलिबल प्रतियोगिताको उपाधि सल्यान–११ ले जितेको हो।सोमबार भएको फाइनलमा धनगढीको मनेहरा स्पोर्ट्स क्लबविरुद्ध सुरुआती दुई सेट गुमाएको सल्यान–११ ले त्यसपछि लगातार तीन सेट आफ्नो पक्षमा पार्दै ३–२ को रोमाञ्चक जित निकालेको हो।मनेहराले सुरुआती दुई सेट जित्दै उपाधि आफ्नो पक्षमा पार्ने संकेत देखाएको थियो। तर, खेलको निर्णायक मोडमा सल्यान–११ ले उत्कृष्ट,आक्रामक खेल, उत्कृष्ट ब्लक तथा रक्षात्मक प्रदर्शनलाई निरन्तरता दिँदै सल्यान–११ ले लगातार तीन सेट जितेर उपाधि उचालेको थियो।सल्यान–११ को जितमा गणेश कार्कीले प्रभावशाली प्रदर्शन गरे। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका कार्की उत्कृष्ट खेलाडी समेत घोषित भए।उपाधिसँगै सल्यान–११ ले नगद १ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता मनेहरा स्पोर्ट्स क्लबले नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।प्रतियोगितामा मनेहरा स्पोर्ट्स क्लबका अशोक राना उत्कृष्ट ब्लकर घोषित भए भने बेलौरी नगरपालिका–६ का १३ वर्षीय अनिस राना उत्कृष्ट डिफेन्डर घोषित भए। अनिस प्रतियोगिताकै सबैभन्दा कान्छा खेलाडीसमेत हुन्। त्यस्तै मनेहराका बिनित राना उत्कृष्ट सर्भिसर घोषित भए। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विधामा पुरस्कार प्रदान गरिएको थियो।

    रामपुर खेलकुद क्लबको आयोजनामा भदौ ११ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा आयोजकसहित १७ टोलीको सहभागिता रहेको थियो। प्रतियोगितामा सल्यान, बैतडी र डडेल्धुरालगायत विभिन्न जिल्लाका टोली सहभागी भएका थिए। आयोजकका अनुसार प्रतियोगितामा राष्ट्रिय तथा भारतीय खेलाडीसमेत सहभागी भएका थिए।

    समापन समारोह रामपुर खेलकुद क्लबका अध्यक्ष रणवीर सिंह थापाको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरी प्रमुख अतिथि तथा प्रमुख प्रशासकीय अधिकृत खेमराज जोशी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

    समापन कार्यक्रममा बोल्दै नगर उपप्रमुख चौधरीले खेलकुद स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण क्षेत्र भएको बताउँदै बेलौरीमा यस्ता प्रतियोगिताले खेलाडीको क्षमता विकाससँगै स्थानीयस्तरमा खेलकुदको वातावरण निर्माण गर्न सहयोग पुग्ने बताउनुभयो।उहाँले आगामी वर्ष पनि भलिबल प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमको सहजीकरण बेलौरी नगरपालिका वडा नम्बर ९ का कम्प्युटर अपरेटर कृष्ण बुढाले गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट