माधब पौडेल ०५ असार।कञ्चनपुरको बेलौरी नगरपालिका नगरपालिका वडा नम्बर ४ मा रहेको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा बेलौरी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नसर्ने रोग (NCD) को जोखिम न्यूनीकरण तथा प्रभावकारी नियन्त्रणका लागि (नसर्ने रोग नियन्त्रण तथा रोकथाम अभियान-२०८३ )वडा स्तरीय कार्ययोजना निमार्ण तथा अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ।
अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो।सरकारले नसर्ने रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम प्रत्येक वर्ष फागुन महिनाभित्र सञ्चालन गर्ने नीति लिएको भए पनि यस वर्ष स्थानीय तहको निर्वाचन लगायतका कारण कार्यक्रम निर्धारित समयमा हुन नसकी ढिलो गरी सञ्चालन गरिएको बेलौरी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ।
अभिमुखीकरणका क्रममा श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख गोविन्द विष्टले उच्च रक्तचाप, मधुमेह, मृगौला सम्बन्धी रोग र शरीरको उचाई र तौलको अनुपात पहिचानका लागि स्क्रिनिङ अभियान लगायतका नसर्ने रोगहरूको अवस्था,जोखिम कारक तत्व तथा रोकथामका उपायबारे जानकारी गराउनुभएको थियो।उहाँले स्वस्थ खानपान, नियमित व्यायाम, धूम्रपान तथा मदिरा सेवनबाट टाढा रहँदै स्वस्थ जीवनशैली अपनाउन सके नसर्ने रोगको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिने बताउनुभयो।

कार्यक्रममा समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्दै नसर्ने रोग नियन्त्रणमा स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो। स्वास्थ्य केन्द्रका प्रमुख गोविन्द विष्टले अधिकांश मानिसहरू बिरामी परेपछि मात्र स्वास्थ्य परीक्षण गराउने प्रवृत्ति रहेको बताउँदै रोग लागेपछि उपचारभन्दा रोग लाग्नै नदिन समय–समयमा स्वास्थ्य परीक्षण गर्नु आवश्यक रहेको बताउँदै नियमित स्वास्थ्य जाँच, सन्तुलित आहार र स्वस्थ जीवनशैली अपनाउन सके नसर्ने रोगको जोखिम न्यूनीकरण गर्न सकिने उल्लेख गर्नुभयो।
प्रतिक्रिया दिनुहोस