माधब पौडेल,२६ जेठ। कंचनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ मा रहेको लक्ष्मीपुर स्वास्थ्य चौकीमा स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजनामा परिवार नियोजन सेवाको प्रभावकारी विस्तार तथा सेवाको पहुँच वृद्धि गर्ने उद्देश्यले मंगलबार परिवार नियोजन सम्बन्धी सूक्ष्म योजना गोष्ठी सम्पन्न भएको छ।
स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयराज भट्ट र पब्लिक हेल्थ नर्सिङ अधिकृत आरती पाण्डेयले गोष्ठीमा स्थानीय तहमा उपलब्ध परिवार नियोजन सेवाको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे विस्तृत समीक्षा गरिएको थियो। कार्यक्रममा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

गोष्ठीमा परिवार नियोजन सेवाको आवश्यकता भए पनि विभिन्न कारणले सेवा प्रयोग नगर्ने वा कम प्रयोग गर्ने लक्षित समूहहरूको पहिचान गरी उनीहरूसम्म सूचना, परामर्श तथा सेवा पुर्याउन आवश्यक रणनीति र कार्ययोजना निर्माणमा जोड दिइएको थियो।सहभागीहरूले परिवार नियोजन सेवाको पहुँच र उपयोगिता बढाउन स्थानीय स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा सहयोगी निकायबीच समन्वयात्मक ढंगले काम गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। साथै,सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन स्थानीय स्तरमै सूक्ष्म योजना तयार गरी कार्यान्वयनमा लैजानुपर्नेमा विषयमा अन्तरक्रिया गरिएको लक्ष्मीपुर स्वास्थ्य चौकीका प्रमुख गणेश पन्तले जानकारी दिनुभयो।
प्रतिक्रिया दिनुहोस