२०८३ बैशाख ८, मंगलबार | Tue, 21, Apr, 2026

एचपीभी खोप अभियानबारे लालझाडीमा सरोकारवालाहरूसँग अन्तरक्रिया 


  • २०८२ माघ २३, शुक्रबार मा प्रकाशित २ महिना अघि
  • ३२२ पाठक संख्या
  • हरिश्चन्द्र बाग, कञ्चनपुर, २३ माघ । पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) रोकथामका लागि कञ्चनपुरमा यही माघ २७ गतेदेखि फागुन १ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन गरिने भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले जिल्लाभर पाँच हजार ५०० छात्रा तथा किशोरीलाई खोप लगाउने लक्ष्य लिएको छ । यसै सन्दर्भमा बिहीबार लालझाडी गाउँपालिकाको जनस्वास्थ्य शाखाले पालिका स्तरीय खोप समन्वय समिति, खोप केन्द्र लक्षित विद्यालयका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूसँग अन्तरक्रियात्मक योजना तर्जुमा गोष्ठी आयोजना गरेको छ । जनस्वास्थ्य शाखा लालझाडीका संयोजक खगेन्द्र चौधरीका अनुसार यस वर्षको अभियानमा कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीलाई लक्षित गरी खोप लगाइनेछ । साथै गत वर्षको अभियानमा खोप लगाउन छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि खोप लगाइने तयारी गरिएको छ । लालझाडी गाउँपालिकाका जनस्वास्थ्य अधिकृत विकास डगौराका अनुसार पालिकाभित्र रहेका २४ वटा खोप केन्द्रमार्फत १९७ जना छात्रालाई एचपीभी खोप प्रदान गरिनेछ । अभियानलाई प्रभावकारी बनाउन आवश्यक सहजीकरणका लागि गाउँपालिका अध्यक्ष निर्मल रानाले सम्बन्धित सबै सरोकारवालालाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार पाठेघरको मुखको क्यान्सर महिलामा देखिने क्यान्सरमध्ये उच्च जोखिमयुक्त मानिन्छ । नेपालमा पनि महिलामा हुने क्यान्सरमध्ये यो पहिलो स्थानमा रहेको र यसको मुख्य कारण ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) रहेको विभिन्न अध्ययनले देखाएका छन् । स्वास्थ्य अधिकारीहरूका अनुसार यौन सम्पर्क हुनुपूर्व किशोरी अवस्थामै एचपीभी खोप लगाउनु क्यान्सर रोकथामका लागि सबैभन्दा प्रभावकारी उपाय हो । सुरुवाती चरणमा खासै लक्षण नदेखिने यस रोगबाट बच्न खोपका साथै ३० वर्ष पूरा भएका महिलाले नियमित रूपमा पाठेघरको मुखको जाँच (स्क्रिनिङ) गराउनुपर्ने चिकित्सकहरूको सुझाव छ । सरकारले यस रोगको भार कम गर्न राष्ट्रिय खोप कार्यक्रममार्फत देशभरका किशोरीलाई लक्षित गरी नियमित रूपमा खोप अभियान सञ्चालन गर्दै आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट