हरिश्चन्द्र बाग / माधव पौडेल, कञ्चनपुर, ०६ जेठ । नेपाल सरकारको क्षयरोग मुक्त नेपाल घोषणा अभियान अन्तर्गत देशभर विभिन्न सचेतनामूलक गतिविधिहरू तीव्र रुपमा अगाडि बढिरहेका छन् । सोही अभियानको सिलसिलामा कञ्चनपुरको बेलौरी नगरपालिका स्वास्थ्य शाखाले सबै वडाहरूमा सरोकारवालाहरूको सहभागितामा अभिमुखीकरण कार्यक्रम गरिरहेको छ । आज मंगलबार बेलौरी नगरपालिका वडा नम्बर ६ मा वडा स्तरीय अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
बेलौरी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा दुर्गा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय प्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, पत्रकार र समुदायका सरोकारवाला व्यक्तिहरूको सहभागिता रह्यो । कार्यक्रममा स्वास्थ्य शाखाका सिअहेब मानबहादुर चन्द र क्षयरोग कार्यक्रम संयोजक दिनेश प्रसाद भट्टले सहजीकरण गर्दै क्षयरोगको अवस्था, संक्रमणको प्रकृति, उपचार प्रक्रिया, रोकथामका उपाय र समुदायस्तरमा आवश्यक सहकार्य बारे विस्तृत जानकारी दिनुभयो ।
बेलौरी नगरपालिकाले अभियानलाई दीर्घकालीन रूपमा निरन्तरता दिइने र समुदायको सक्रिय सहभागिता मार्फत क्षयरोग मुक्त समाज निर्माणमा योगदान दिने प्रतिबद्धता जनाएको छ । कार्यक्रमकै सिलसिलामा वडा नम्बर ६ का वडाध्यक्ष भोजराज चौधरीको संयोजकत्वमा वडा स्तरीय क्षयरोग नियन्त्रण समिति गठन गरिएको छ । यस समितिबाट आगामी दिनमा स्थानीय तहमा क्षयरोग न्यूनीकरणका लागि सहजीकरण, निगरानी र सचेतना प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रममा सहभागी विद्यालय प्रतिनिधिहरूलाई विद्यार्थीहरूका लागि जुकाको औषधि समेत उपलब्ध गराइएको दुर्गा आधारभूत स्वास्थ्य सेवा केन्द्रकी इन्चार्ज ममता बिष्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस