धनबहादुर बिक,०५ पौष।”स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद”भन्ने मुल नारा सहित कञ्चनपुरको पुनर्वास नगरपालिकाले आयोजना गरेको १५ औं संस्करणको नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुनर्वास नगरपालिका वडा नम्बर ५ मा रहेको गौरीशंकर माध्यमिक बिद्यालयको खेलमैदानमा शुक्रबार उद्घाटन भएको छ।कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य तारालामा तामाङले खेलकुदले विद्यार्थीको शारीरिक,मानसिक साथै आत्मिक तन्दुरुस्त बनाउने र सिकाइमा ताजापन ल्याउनमा खेलले ठूलो भूमिका खेल्ने कुरा बताउनुभयो।कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका एमाले नेता लामाले आफु स्वयं यसै क्षेत्रको नागरिक भएको हैसियतले खेलाडी भाइ बैनिहरूको विकासका लागि आफुले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।खेलले स्वास्थ्यमा टेवा पुग्ने मात्र नभई अनुशासन पनि सिकाउछ एकआपसमा एकता र सुमधुर सम्बन्ध समेत राख्न मद्दत पुग्ने बताउँदै विकास होस वा खेल क्षेत्र कसैले पनि राजनीति गर्न नहुने बिषयमा समेत जोड दिनुभयो।
कार्यक्रमका सभापति तथा पुनर्वास नगरपालिका नगर प्रमुख तोय प्रसाद शर्माले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता स्थानीय तह , प्रदेश हुँदै संघिय तह सम्म खेलको माध्यमबाट स्थानीय क्षेत्रलाई राष्ट्रियस्तरसम्म परिचित गराउन मद्दत मिल्ने बताउनुभयो । पुनर्वास नगरपालिकाले सिमित श्रोत साधन भित्र रहेर पनि विगतका बर्षहरूमा हाम्रो पालिकावाट छनौट भएका खेलाडीहरुले जिल्ला, प्रदेश र राष्ट्रीय स्तर समेत आफ्नो प्रतिभा प्रदर्शन गरिसकेका छन। यस वर्ष पनि प्रतियोगिता बाट छनौट भएका खेलाडी विद्यार्थी- हरुले जिल्ला, प्रदेश र राष्ट्रीयस्तर या आफ्नो नाम र पालिकाको नाम राख्न सफल हुनेछ भन्ने अपेक्षा राख्दछु नगर प्रमुख तोय प्रसाद शर्माले आफ्नो भनाइमा जोड दिनुभयो।कार्यक्रमका बिशिस्ट अतिथि पुनर्वास नगरपालिका निवर्तमान नगर प्रमुख जिवनराज थापाले खेलको माध्यमबाट म राष्ट्रका लागि केही योगदान दिनेछु भन्ने विद्यार्थी भाइ बैनीहरूलाई अवसर मिल्ने तथा खेलकुद को माध्यमबाट आफ्नो करियर बनाउने सुनौलो अवसर समेत रहने बिषयमा जोड दिँदै राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता कार्यक्रमको सफलताको शुभकामना समेत दिनुभएको थियो।
नगर उप प्रमुख भुलिया कुमारी रानाले विद्यार्थी भाइ बैनिहरूको प्रतिभालाई प्रस्फुटन गराउन तथा उनिहरूको प्रतिभासंगै पुनर्वास लाई राष्ट्रमा चिनाउन हरेक बर्षझै यस बर्ष पनि नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता को आयोजना गरिएको बताउनुभयो।आफ्नै वडा अन्तर्गत रहेको बिद्यालयमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन हुन लागेकोमा हर्षित हुँदै पुनर्वास नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पदमबहादुर रोकाय ले खेल अवधिभरी अत्यन्तै अनुशासन र सौहार्दपुर्ण वातावरणमा सम्पन्न होस भन्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए।पौष ५ गतेदेखि ७ गतेसम्म आयोजना गरिने उक्त राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पुनर्वास का सामुदायिक तथा निजि माध्यमिक तहका २५ बिद्यालय सहभागी रहेका छन ।
गतबर्ष पुनर्वास नगरपालिका ८ मा रहेको बागिश्वरी माध्यामिक विद्यालयको खेलमैदान मा सञ्चालन गरिएको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता यस बर्ष आफ्नो बिद्यालयको खेलमैदान मा सञ्चालन गर्न पाउँदा खुसी लागेको गौरीशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकबहादुर थापाले बताउनुभयो। आफ्नो बिद्यालयमा प्रतियोगिताका लागि अवसर दिएकोमा उहाँले नगरपालिकालाई धन्यवाद समेत दिनुभयो।प्रतियोगितामा प्रमुख निर्णायकको भुमिकामा रहेका खेल शिक्षक कर्ण बहादुर रोकायाले विद्यार्थीको सर्वांगिण विकासमा टेवा पुग्ने भएकाले खेलकुदलाई स्थानीय तहले मात्र नभई विद्यालयले समेत प्राथमिकता दिन सुझाव दिनुभयो।माध्यमिक स्तरका विद्यार्थीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्दै तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीले जिल्लामा प्रतिस्पर्धा गर्न अवसर प्राप्त हुने अर्का निर्णायक तथा खेल शिक्षक जय बहादुर चन्दले बताउनुभयो।
प्रतियोगितामा छात्र छात्रा भलिबल,कबड्डी,रिले दौड, कराँते, तेक्वान्दो, उसु, हाइजम्प लङजम्पलगायतका खेल समावेश गरिएको छ। प्रतियोगितामा नगरपालिकाभित्रका २५ विद्यालयका करिब एक हजार विद्यार्थीले प्रतिस्पर्धा गर्ने जनाईएको छ।शुक्रबार भएका खेलहरूमा मार्चपास तर्फ प्रथम गौरीशंकर माध्यामिक विद्यालय,दित्तिय एस पि एल एकेडेमी माध्यामिक विद्यालय र तृतीय पुनर्वास जनता माध्यमिक विद्यालय रहेका छन । त्यसैगरी ८०० मिटर छात्र रिले दौडमा जीवन ज्योति माध्यामिक विद्यालय प्रथम,बागिश्वरी माध्यामिक विद्यालय द्वितीय र जीवन ज्योति माध्यामिक विद्यालयले तृतीय स्थान हासिल गरेका छन । छात्रा रिले दौड ८०० मिटर को प्रथम स्थान बागिस्वरी माध्यामिक विद्यालयले हात पारेको छ भने द्वितीय जीवन ज्योति माध्यामिक विद्यालयले हात पारेको छ भने तृतीय स्थान बागेश्वरी माध्यमिक विद्यालयले प्राप्त गरेको छ ।
यस्तै सर्टफुट छात्रा तर्फको प्रथम स्थान जीवन ज्योति माध्यामिक विद्यालयको रहेको छ।द्वितीय स्थान गौरीशंकर माध्यमिक विद्यालयले प्राप्त गरेको छ भने तृतीय स्थान सरस्वती माध्यमिक विद्यालयले हासिल गरेको छ ।छात्र तर्फको सर्टफुटको प्रथम सरस्वती माध्यमिक विद्यालय,द्वितीय दुर्गा माध्यमिक विद्यालय तृतीय स्थान बिजय माध्यमिक विद्यालयले प्राप्त गरेको छ । प्रतियोगितामा विजयी हुने खेलाडीलाई मेडल,प्रमाणपत्र प्रदान गरिने छ भने,प्रतियोगितामा सहभागी बिद्यालयलाई नम्बर तथा खेल बिधाको आधारमा शिल्ड पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस