हरिश्चन्द्र बाग, कञ्चनपुर, ० ८भदौ । कञ्चनपुरको बेलडाँडीमा खुल्ला नकआउट फुटबल प्रतियोगिता सञ्चालन गरिएको छ । गौरा पर्वको अवसर पारेर बेलडाँडीमा रहेको अल स्टार युवा क्लबको आयोजनामा शुक्रबारदेखि सातौँ संस्करणको फुटबल प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा बाहिरका सोह्र टिम र आयोजकको एक गरी १७ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ८१ हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र तथा द्वितीय हुने टिमलाई नगद ४५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष लोक बहादुर बलायरले जानकारी दिनुभयो । यस्तै अन्य विद्याका उत्कृष्ट खेलाडीहरूलाई समेत पुरस्कार प्रदान गरिने बताइएको छ ।प्रतियोगितालाई भव्य रूपमा सफल पार्नका लागि देश विदेशमा रहेका पूर्वखेलाडी, खेलप्रेमी र व्यापारीहरूको तर्फबाट आर्थिक सहयोग प्राप्त भएको प्रतियोगिताका संयोजक एवम् अल स्टार युवा क्लबका उपाध्यक्ष मनोज खडायतले बताउनु भयो । क्लबलाई विभिन्न तवरले सहयोग गर्नु हुने सम्पूर्णलाई आयोजकले कृतज्ञता साथ धन्यवाद ज्ञापन गरेको छ ।
बेलडाँडी गाउँपालिका वडा नं. १ स्थित कालिका मन्दिरको उत्तरपट्टिको मैदानमा सञ्चालित प्रतियोगिताको शुक्रबार अपराह्न उद्घाटन गरिएको छ । क्लबका अध्यक्ष लोकबहादुर बलायरको अध्यक्ष तथा बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको उद्घाटन समारोहमा गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष गजबहादुर बिष्ट सहित वर्तमान तथा निवर्तमान स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, पत्रकार, समाजसेवी, खेलाडी र खेलप्रेमीहरूको उपस्थिति रहेको थियो । उद्घाटन समारोहको सहजीकरण शिक्षक भीमराज जोशीले गर्नुभएको थियो । वक्ताहरूले खेलकुद क्षेत्रको विकासका लागि आआफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।
उद्घाटन खेलका रूपमा शुक्रबार साँझ मल्टी स्टार युवा क्लब र बि वान जे यूथ बिच भएको रोमाञ्चक खेलमा मल्टी स्टारले ४-० गोलको अन्तरले बि वान जे यूथलाई हराउँदै आफ्नो पहिलो जित दर्ता गरेको छ । शनिबार प्रतियोगिताको दोस्रो दिन तीन वटा खेल हुने आयोजकले जनाएको छ । पहिलो खेल बिहान ८ बजे झिलमिला युवा समाज ‘सी’ र जय लक्ष्मी युवा क्लब बिच हुनेछ । दोस्रो खेल दिउँसो १ बजे वाई.बि. स्टार र चिफ एण्ड बेष्ट बिच हुनेछ भने तेस्रो खेल बेलडाँडी फुटबल एकेडेमी ‘बि’ र झिलमिला युवा समाज ‘बि’ बिच दिउँसो ३ बजे भएको खेलमा बि वान जे यूथलाई हराउँदै मल्टी स्टार युवा क्लबले विजय सुरुवात गरेको छ।
प्रतिक्रिया दिनुहोस