२०८२ बैशाख १५, सोमबार | Mon, 28, Apr, 2025

सुदूरपश्चिमका सीमा नाकामा रहेका हेल्थ डेस्कका कर्मचारीले पाएनन् नौ महिनादेखिको तलब


  • २०८१ बैशाख २४, सोमबार मा प्रकाशित ११ महिना अघि
  • ३१० पाठक संख्या
  • हरिश्चन्द्र बाग, कञ्चनपुर, २४ बैशाख । कोरोना कालमा नेपाल–भारत सीमा क्षेत्रमा स्वास्थ्य जाँच गर्न स्थापना गरिएका हेल्थ डेस्कका कर्मचारीहरूले पछिल्लो नौ महिनायताको तलब सुविधा पाएका छैनन् । सुदूरपश्चिम प्रदेशका गड्डाचौकी, त्रिनगर, खक्रौला, झुलाघाट लगायतका सीमा नाकामा रहेका हेल्थ डेस्कका जम्मा २७ जना कर्मचारीहरूले नौ महिनादेखि काम गरेको तलब सुविधा नपाएपछि सोमबारदेखि हातमा कालोपट्टि बाँधेर काम गरिरहेको गड्डाचौकी हेल्थ डेस्कमा कार्यरत ल्याब टेक्निसियन लक्ष्मी रिमाल धामीले बताउनु भयो । कोरोना भाइरसको महामारी चरम उत्कर्षमा पुगेको समयदेखि सीमा नाकाका हेल्थ डेस्कहरूमा कार्यरत आफूहरूलाई स्वास्थ्य निर्देशनालयले नियमित रूपमा काममा लगाए पनि यो आर्थिक वर्षको नौ महिनाको तलब नपाएको कर्मचारीहरूको गुनासो छ । गड्डाचौकी हेल्थ डेस्कमा कार्यरत स्टाफ नर्स मनीषा विक नौ महिनादेखि तलब नपाउँदा काम गर्न निकै समस्या भएको सुनाउनु हुन्छ ।

    तलब नपाउने सबै कर्मचारी करार सेवामा कार्यरत रहेको र लिखित रूपमा म्याद पनि नथपिएको गड्डाचौकी हेल्थ डेस्कमा कार्यरत हेल्थ असिस्टेन्ट विशाल भट्ट बताउनु हुन्छ । तर स्वास्थ्य निर्देशनालयले तलबका लागि बजेट आउँछ, तपाईँहरू काम गर्नुस् भनेपछि आफूहरू आसैआसमा बसेको कर्मचारीहरूको भनाइ छ । एक हप्तासम्म हातमा कालोपट्टि बाँधेर काम गर्ने र त्यति बेलासम्म तलब बारे कुनै सुनुवाइ नभए हेल्थ डेस्कमा नखटिने उनीहरूको चेतावनी छ । यदि कर्मचारीहरूले त्यसो गरेमा हेल्थ डेस्क नै बन्द हुने स्थिति आउन सक्छ । तलब नआएपछि पालिका र सिडिओ कार्यालय मार्फत सम्बन्धित निकायमा दबाब दिइएको भए पनि कुनै सुनुवाइ नभएको कञ्चनपुरको गड्डाचौकी सीमा नाकास्थित हेल्थ डेस्कका इन्चार्ज प्रेमसिंह भण्डारी बताउनु हुन्छ ।हेल्थ डेस्कमा कार्यरत करार कर्मचारीहरूलाई सुरुमा सम्बन्धित क्षेत्रका स्थानीय तहहरूले नियुक्त गरेका हुन् । कोरोना भाइरसको महामारीको बेला स्वास्थ्यका कर्मचारीलाई दिइएको जोखिम भत्तासमेत यी कर्मचारीले पाएका थिएनन् । त्यति बेला पनि शुद्ध तलब बाहेक अन्य कुनै सुविधा नपाएको कर्मचारीको गुनासो छ । कोरोनाको महामारी सुरु भएपछि प्रदेश सरकारले सीमा नाकामा हेल्थ डेस्क सञ्चालनमा ल्याएको थियो । अहिले ती हेल्थ डेस्कमा कोरोना भाइरस सहित एचआइभी, क्षयरोग, मलेरिया, डेङ्गु, स्क्रबटाइफस लगायतका रोगहरूको नमुना जाँच हुने गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट