हरिश्चन्द्र बाग, कञ्चनपुर, २० बैशाख । कञ्चनपुरको लालझाडी गाउँपालिकाले नागरिकसँग गाउँपालिका अध्यक्ष स्वास्थ्य विशेष कार्यक्रम सञ्चालन गरेको छ । गाउँवासीको स्वास्थ्यलाई मध्यनजर गर्दै यस वर्ष पनि उक्त कार्यक्रम सञ्चालन गरिएको लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले जानकारी दिनुभयो । गाउँपालिकाका सबै वडामा नागरिकको घरदैलोमा गएर निदान, उपचार र परामर्श गरिने उहाँको भनाइ छ । जनजीविकासँग प्रत्यक्ष जोडिएका यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाई निरन्तरता दिन सक्यो भने सेवाबाट वञ्चित भएका नागरिक र रोग पालेर बसिरहेका नागरिकहरूले घरदैलोमै स्वास्थ्य सेवा पाई लाभान्वित हुने लालझाडी गाउँपालिका उपाध्यक्ष सपना चौधरी रानाले विश्वास व्यक्त गर्नुभयो ।
नागरिकसँग गाउँपालिका अध्यक्ष स्वास्थ्य विशेष कार्यक्रम अन्तर्गत बिहीबार अभिमुखीकरण कार्यक्रम गरिएको छ भने आउँदो आइतबारदेखि स्वास्थ्यकर्मी सहितको टोली सबै वडाहरूमा नागरिकको घरदैलोमै गई स्वास्थ्य चेकजाँच र आवश्यक परामर्श दिने कार्य सुरु गरिने लालझाडीका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले जानकारी दिनुभयो । उक्त कार्यक्रमलाई कार्यविधि नै बनाएर सञ्चालन गर्न सके यसको प्रभावकारिता बढ्ने उहाँको भनाइ छ । पहल बहादुर थापाले लालझाडी भरिका हरेक नागरिकको घरदैलोमा गई सेवा दिइने कार्यक्रम भएकोले यो कार्यक्रम अति लाभदायक रहेको बताउनु भयो । वडाले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने क्रममा समेत स्वास्थ्य परीक्षणको कार्यक्रम गर्ने गरेको सुनाउनु भयो । यश किसिमका कार्यक्रमले स्वास्थ्य सेवाबाट वञ्चित नागरिकहरूसम्म सेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । यसै कार्यक्रम अन्तर्गत हरेक वडामा विशेषज्ञ सेवा सहितका शिविर सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
लक्षित वर्गका नागरिकसम्म सहज तरिकाले स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सामान्य स्वास्थ्य जाँच सहित उच्च रक्तचाप, मधुमेह लगायतका बिरामीको समस्या पहिचान, महिलाको आङ खस्ने समस्या, मिर्गौला पीडित, क्यान्सर र अन्य दीर्घ रोगी लगायतको खोज पड्ताल गरी जानकारी लिइने र उपचार योजना बनाई पालिका स्तरीय एकीकृत विशेषज्ञ स्वास्थ्य सेवा शिविर सञ्चालन गरिने लालझाडी गाउँपालिका स्वास्थ्य शाखाका संयोजक खगेन्द्र चौधरीले जानकारी दिनुभयो । गत वर्ष सञ्चालन भएको यो कार्यक्रमबाट १६४१ महिला र १२५० पुरुष गरी जम्मा २८९१ जनाका समस्या निदान भएको लालझाडी गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक दशरथ रानाले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस