माधव पौडेल / हरिश्चन्द्र बाग, कञ्चनपुर, ०५ माघ । कञ्चनपुरको बेलौरीमा ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । बेलौरी ब्याडमिन्टन क्लब र उग्रतारा बाल विद्यालयको संयुक्त आयोजनामा शुक्रबारदेखि खुला ब्याडमिन्टन प्रतियोगिता सञ्चालन भएको छ । उग्रतारा बाल विद्यालयको ब्याडमिन्टन हलमा खेलकुद समिति बेलौरीका अध्यक्ष रामेश्वर न्यौपानेले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । ७ गतेसम्म प्रथम उग्रतारा बिबिसी जुनियर अन्तर विद्यालय स्तरीय (माध्यमिक तह कक्षा १० सम्मका विद्यार्थीहरूबिच प्रतिस्पर्धा) खेल सञ्चालन गरिएको र माघ १२ देखि १६ गतेसम्म सहिद सप्ताहको अवसर पारी आठौँ उग्रतारा बिबिसी नगर स्तरीय खुल्ला (डबल) पुरुष ब्याडमिन्टन प्रतियोगितामा हुने बेलौरी ब्याडमिन्टन क्लबका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिनुभएको छ । जुनियर अन्तर्गत १४ वटा टिम दर्ता भएका छन् ।
क्लबले विगतका वर्षदेखि नै बेलौरीमा ब्याडमिन्टन प्रतियोगिता गर्दै आइरहेको छ । अन्तर विद्यालय छात्र तर्फ विजेता हुने टिमले नगद रु. दुई हजार पाँच सय सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । उपविजेताले नगद रु. दुई हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुपर्ने छ भने तेस्रो हुने टिमलाई सान्त्वना स्वरूप रु. एक हजार नगद प्रदान गरिने छ । नगर स्तरीय (डबल) पुरुष प्रतियोगिता तर्फ विजेता टिमले रु. २१ हजार सहित ट्रफी , मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले रु. ११ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । तेस्रो हुने टिमलाई सान्त्वना स्वरूप रु. पाँच हजार एक सय पुरस्कार प्रदान गरिने उग्रतारा बाल विद्यालयका प्रिन्सिपल केशव सिंह बिष्टले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस