पुनर्वास, ०२ पौष। कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वास नगरपालिकामा एक दिने नि:शुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
महाकाली आयुर्वेद औषधालय महेन्द्रनगरको आयोजना एवम् पुनर्वास नगरपालिका र नागरिक आरोग्य स्वास्थ्य केन्द्रको समन्वयमा पुनर्वास नगरपालिका वडा नं ६ मा रहेको पुनर्वास जनता माध्यमिक बिद्यालय ,प्रतिभानगर टाउनमा विभिन्न किसिमका रोगहरुको चेकजाँचका लागि एक दिने नि:शुल्क बिशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माको प्रमुख आतिथ्य र महाकाली आयुर्वेद औषधालय महेन्द्रनगरका प्रमुख डाक्टर ओम प्रकाश कलौनीको अध्यक्षतामा पुनर्वास जनता माध्यमिक विद्यालयको प्राङ्गाणमा एक समारोह आयोजना गरी शिविरको उद्घाटन गरिएको थियो। पौराणिककालदेखि नै आयुर्वेद चिकित्साको सबै व्यवस्थापन हुँदै आएको भए पनि त्यसलाई प्रयोगमा ल्याउने क्रममा आधुनिकतासँग समन्वय गरेर जाँदा पछाडि परि हराउँदै गएको आयुर्वेद चिकित्सा तथा यसको महत्वबारे बुझाउन र आयुर्वेद चिकित्साप्रति जनचासो बढाउन तथा प्रचार प्रसारका लागि शिविरको आयोजन गरिएको थियो।
स्वस्थ र तन्दुरुस्त शरीर साना देखि बृद्ध मानिसहरूका निम्ति अपरिहार्य छ। जनमानसमा स्वास्थ्यको जिम्मा केवल स्वास्थ्यकर्मीको हो भन्ने बुझाईले पनि स्वास्थ्यको पाटो निकै जटिल बन्दै गएको डा. खगेन्द्र बहादुर बमले बताउनुभयो। स्वास्थ्य स्वास्थ्यकर्मीको मात्र नभएर हामी सबैको हो भनेर बुझिदिन अनुरोध गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै त्रिभुवन स्वास्थ्य चौकीका ब्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं ५ का वडा अध्यक्ष पदम बहादुर रोकायले अधिकांस मानिसहरू आयुर्वेद उपचार पद्धतिको बेवास्ता गरी चाडो निको हुने भन्दै अङ्ग्रेजी औषधितर्फ आकर्षित हुदाँ अहिलेको स्वास्थ्य क्षेत्रमा देखिएका जटिल रोगहरूको सामना गर्नु परेको बताउदैआयुर्वेद चिकित्साको सल्लाह र सुझाव अनुसार उपचार गर्न सके आफ्नै घर आँगन र खेतवारीमा पाईने बोटबिरुवा र अन्न उब्जनी बाट उपचार गर्न सकिने बताए। आयुर्वेद चिकित्सा पद्धतिलाई हाम्रो जीवनसँग जोड्दै लैजानसके दीर्घ रोगबाट छुट्कारा पाउन सकिने बताउनुभयो।
शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले अस्पतालसम्म जान नसक्ने र आर्थिक रुपमा कमजोर घरपरिवारका विरामीलाई स्वास्थ्य शिविरले महत्वपुर्ण सेवा प्रदान गर्ने अपेक्षा आफुले लिएको भन्दै नगरप्रमुख शर्माले “रोगको उपचार भन्दा उपचार नै नगर्ने वातावरण बनाउन स्वास्थ्य प्रवर्द्धनात्मक कार्यक्रम तथा आयुर्वेद औषधि पद्धतिको विकासमा जोड दिने प्रतिबद्धता जनाउदै” स्वस्थ पानी,स्वस्थ जीन्दगानी जस्तै आयुर्वेदीक औषधी आफुहरुको जीवनमा निकै उपयोगी हुने र आगामी दिनहरुमा समेत नगरबासिको स्वास्थ्यलाई मध्यनजर गर्दै विविध किसिमका स्वास्थ्य शिविरको आयोजना गरिने नगरप्रमुख शर्माले जानकारी दिनुभयो।
स्थानीय सरकारको समन्वयमा नि:शुल्क रुपमा आयुर्वेद तथा बैकल्पिक चिकित्सा स्वास्थ्य शिविर राखिएकोमा सेवाग्राही निकै खुसी भएका छन् । यस्तै शिविरबाट निशुल्क आयुर्वेदिक पद्धतीबाट सबैखाले रोगहरुको उपचार तथा परामर्श दिईएको थियो। शिविरमा बीएएमएस एम.डी. डाक्टर ओम प्रकाश कलौनी, डा. खगेन्द्र बहादुर बम र डाक्टर राजेन्द्र प्रसाद भट्ट गरी तीन जना चिकित्सकीय डाक्टर सहित १२ जनाको टिमले विरामीहरुको चेकजाँच गरेका थिए । शिविरमा महिला पुरुष गरि करिब २ सय जना सेवाग्राहीले स्वास्थ्य सेवा लिएका थिए।
प्रतिक्रिया दिनुहोस