बेलौरी, कञ्चनपुर, ०२ असार । कञ्चनपुरको बेलौरीमा सिकलसेल एनिमिया र थालेसिमिया रोग पहिचानको लागि नि:शुल्क रगत परीक्षण शिविर सञ्चालन गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सहयोग र बेलौरी नगरपालिकाको समन्वयमा स्वास्थ्य कार्यालय कञ्चनपुरले शिविर सञ्चालन गरेको हो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले शिविरको उद्घाटन गर्दै सिकलसेल एनिमिया सँगसँगै अन्य दीर्घ रोगहरूको पहिचान गर्न प्रदेश सरकार जनताको घर दैलोमा पुग्ने अभियानमा रहेको उल्लेख गर्नुभयो । बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश स्तरीय अस्पतालका रूपमा स्तरोन्नति गर्ने प्रदेश सरकारले निर्णय गरिसकेको र छिट्टै प्रक्रिया सुरु गर्ने पनि उहाँले सुनाउनु भयो ।
शिविर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट बहादुर साउँदले प्रदेश सरकारले जनतालाई नि:शुल्क शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्ने नीति तथा कार्यक्रममा समावेश गरेको बताउनु भयो । चालू आर्थिक वर्षमा सीमित क्षेत्रमा शिविर सञ्चालन गरी सिकलसेलका बिरामीहरूको खोजपड्ताल गर्न लागिएको बताउँदै मन्त्री साउँदले आगामी आर्थिक वर्षमा यसको दायरा बढाउने उल्लेख गर्नुभयो । प्रदेश सभा सदस्य दिवानसिंह बिष्टले सिकलसेल रोगको पहिचान र उपचारका लागि कञ्चनपुरको दक्षिणी क्षेत्रमै नियमित रूपमा विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य सेवा सञ्चालनमा जोड दिनुभयो । उहाँले बेलौरीमा प्रदेश स्तरीय अस्पताल स्तरोन्नति गरी दक्षिणी क्षेत्रमै स्वास्थ्य सेवा प्रदान गर्न पहल गरिरहेको सुनाउनु भयो ।
त्यस्तै प्रदेश सभा सदस्य गीता चौधरीले थारु समुदायमा बढी देखिएको सिकलसेललाई समयमै नियन्त्रण गर्न नसकेमा उसले थप भयावह स्थिति सृजना गर्ने तर्फ चिन्ता व्यक्त गर्नुभयो । सिकलसेल रोगबाट पीडितहरूको स्वास्थ्योपचार र आम नागरिकलाई यसबारे सचेतना प्रदान गर्न तीनै तहका सरकार र सरोकारवालाहरूको ध्यानाकर्षण गराउनु भयो । सिकेलसेलबाट डगौरा थारु र रानाथारु समुदाय बढी प्रभावित रहेकोले बेलौरीबाट नि:शुल्क रगत परीक्षण शिविरको सुरुवात गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिनुभयो । शनिबारदेखि सञ्चालित रगत परीक्षण शिविर १० दिनसम्म सञ्चालन हुने बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीले बताउनु भयो । यस अवधिमा रानाथारु र डगौरा थारु समुदायका १० वर्षदेखि २५ वर्ष उमेरसमूहका व्यक्तिहरूको रगत परीक्षण गरिने हुँदा सम्बन्धित वडाका लागि तोकिएको स्थान र समयमा गई रगत परीक्षण गर्न सम्बन्धित सबैलाई उहाँले अनुरोध गर्नुभयो ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका प्रमुख डा. जगदीश जोशी र महाकाली अस्पतालका निमित्त मेसु डा. अर्जुन भट्टले सिकलसेल रोगबारे जानकारी गराउनु भएको थियो । उद्घाटन कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले गर्नुभएको थियो । स्वास्थ्य शिविरमा स्वास्थ्य कार्यालय कञ्चनपुर, महाकाली प्रादेशिक अस्पताल र बेलौरीका स्वास्थ्यकर्मीहरूको टोलीले रगत परीक्षणका लागि नमुना लिने कार्य गरिरहेको छ । उद्घाटन कार्यक्रममै बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीले नगरपालिकाको सन्दर्भमा र बेलौरीका महिला स्वास्थ्य स्वयंसेविकाहरूले विभिन्न माग राख्दै मुख्यमन्त्री शाहलाई ज्ञापन पत्र बुझाउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस