कञ्चनपुर,२४ जेठ । कञ्चनपुरको बेलौरी नगरपालिकामा पनि जेठ २५ गतेदेखि दादुरा–रुबेला विरुद्धको खोप दिइने भएको छ । बुधबार श्रीपुर प्रथामिक स्वास्थ्य केन्द्रको तालिम हलमा सञ्चालन भएको अभिमुखिकरण कार्यक्रममा बेलौरी नगरपालिका वडा नम्बर ४ र ६ मा रहेका बिधालयका प्रधानाध्यापक एवं शिक्षक प्रतिनिधि ,महिला स्वास्थ्य स्वयंसेविका लगायत सरोकार वाला निकायको उपस्थितिमा अभिमुखिकरण कार्यक्रम गर्दै दादुरा–रुबेला न्यूनीकरणका लागि खोप दिइन लागेको जानकारी गराइएको हो।युनिसेफ र डब्लुएचओको साझेदारीमा नगरपालिकाको स्वास्थ्य शाखाले ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई जेठ ३१ गतेसम्म सो खोप दिइन लागेको हो । दक्षिणपुर्वि एसियामा सन् २०२६ सम्म दादुरा न्यूनीकरण गर्ने लक्ष्य रहेकाले सो का लागि अभियान नै सञ्चालन गरेर कार्यक्रमहरू सञ्चालन गरिरहेको नगरपालिकाले जनाएको छ। नियमित खोप अभियान सञ्चालन हुँदा पनि सन् २०२३ सम्म न्यूनीकरण गरिसक्ने लक्ष्य राखिएको दादुरा रोग अझै देखा परिरहेको छ। रोग अझै पनि देखा परिरहेकाले सन २०२६ सम्ममा न्यूनीकरण गरिसक्ने गरी अभियान सञ्चालन गरिएको हो ।
नगरपालिकाले जेठ २५ गतेदेखि ३१ गतेसम्म १०वटै वडामा करिब १५ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ । अहिले जिल्लामा ३३ जनामा दादुरा रोग फेला परे पनि नगरपालिकामा भने दादुराका केश नरहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख गोविन्द बहादुर बिष्टले सहयोग आवश्यक हुने बताउँदै यो अभियानमा सबैलाई सघाउन आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस