२०८१ मंसिर २०, बिहिबार | Thu, 05, Dec, 2024

प्रथम खुल्ला बेलौरी पेनाल्टी सुट–आउट प्रतियोगिता सम्पन्न उपाधि नवज्योति युवा क्लबलाई


  • २०७९ कार्तिक ६, आईतबार मा प्रकाशित २ साल अघि
  • ४४४ पाठक संख्या
  • माधब पौडेल , कञ्चनपुर, ०६ कात्तिक । कञ्चनपुरको बेलौरीमा आयोजना गरिएको एक दिवसीय प्रथम खुल्ला बेलौरी पेनाल्टी सुट–आउट प्रतियोगिताको उपाधि लालझाडी गाउँपालिका वडा नम्बर १ स्थित नवज्योति युवा क्लबले हात पारेको छ । उक्त प्रतियोगितामा लालझाडी गाउँपालिका वडा नम्बर २ स्थित विष्णु युवा क्लब उपविजेता बनेको छ । प्रतियोगितामा प्रथम भएको नवज्योतिले रु. ३० हजार र द्वितीय भएको विष्णुले रु. २० हजार पुरस्कार प्राप्त गरेको बेलौरी नगरपालिका वडा नम्बर ४ स्तरीय खेलकुद विकास समितिका अध्यक्ष शिशिर चापागाईँले जानकारी दिनुभयो । खेलकुद प्रतियोगिताका क्रममा हुने विवाद र पक्षपातलाई पूर्ण रूपमा निस्तेज गरी निष्पक्ष र निर्विवाद खेल सञ्चालन गर्न सूचना, सञ्चार र प्रविधिको नयाँ अभ्यास गरिएको उहाँको भनाइ छ ।

    “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारा सहित बेलौरी नगरपालिका वडा नम्बर ४ को आयोजनामा आइतबार साँझदेखि रातिसम्मै सञ्चालन गरिएको थियो । खेलको प्रमुख निर्णायकका रूपमा ज्ञानेन्द्र गौतम तथा सहायक निर्णायकका रूपमा हिमाल श्रेष्ठ तथा रमेश रावल र मनोज भट्टले सहयोगी भूमिका निर्वाह गर्नुभएकोमा आयोजकले कदर गरेको छ । बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरी र वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन ढकालले पेनाल्टी सुट गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । उद्घाटन लगत्तै सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएका उपप्रमुख चौधरीले बेलौरीको इतिहासमै पहिलो पटक रात्रिकालीन पेनाल्टी सुट आउट भइरहेको र खेलकुदको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । प्रतियोगितामा सहभागिताका लागि आयोजकका ३ र अन्य १९ गरी जम्मा २२ टिम दर्ता भएका थिए । प्रतियोगितालाई निष्पक्ष र पूर्ण रूपमा सफल पार्न सहयोग गर्ने सबैलाई आयोजकको तर्फबाट वडाध्यक्ष ढकालले धन्यवाद तथा आभार व्यक्त गर्नुभयो । प्रतियोगिता सञ्चालनकै क्रममा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी बेलौरीका खेलाडीहरूलाई सम्मान पत्र प्रदान गरिएको छ । लक्ष्मण दियाल र तेज बहादुर चन्दले प्रतियोगिताको सहजीकरण गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट