२०८२ माघ २४, शनिबार | Sat, 07, Feb, 2026

बेलौरीमा माघ म्याला सम्पन्न 


  • २०८२ पौष २९, मंगलबार मा प्रकाशित ३ हफ्ता अघि
  • ३७३ पाठक संख्या
  • माधब पौडेल/हरिश्चन्द्र बाग, कञ्चनपुर, २९ पुस । कञ्चनपुरको बेलौरीमा माघी पर्वलाई लक्षित गर्दै आयोजना गरिएको ‘माघ म्याला २०८२’ सम्पन्न भएको छ । बेलौरी नगर भलमन्सा समितिको आयोजनामा तथा बेलौरी नगरपालिकाको आर्थिक सहयोगमा पुस २६ गतेदेखि सुरु भएको माघ म्याला मंगलबार सम्पन्न भएको छ ।कार्यक्रमको सभापति बेलौरी नगर भलमन्सा समितिका अध्यक्ष अमर चौधरी, प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगर प्रमुख पोति लाल चौधरी, बिशिष्ट अतिथि नगर उप प्रमुख जोगराम चौधरी,अतिथिमा नगरपालिका नगर प्रवक्ता हर्क बहादुर भूल,नगरपालिकाका वडा नम्बर १ देखि १० सम्मका‌ वडाध्यक्ष,कार्यपालिका सदस्य, बेलौरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत झपिराज ओझा,महाकाली माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह बोहरा,नगर खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपाने,लगायत सुरक्षाकर्मी उपस्थिति रहेको थियो। समापन कार्यक्रममा बोल्दै नगर उपप्रमुख जोगराम चौधरीले माघि म्याला सँगै सबै जातजातिका मौलिक सांस्कृतिक कार्यक्रम समेटिएकाले सामाजिक सद्भाव र एकता मजबुत हुनुका साथै स्थानीय कला, संस्कृति र पहिचानको संरक्षण गर्दै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने बताउनुभयो। समापन कार्यक्रमका प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले माघी पर्वको शुभकामना व्यक्त गर्दै नगरभित्र बसोबास गर्ने सबै जातजातिका मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनलाई नगरपालिका सधैँ प्राथमिकतामा राख्दै आएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमको अध्यक्षता समेत गर्नु भएका बेलौरी नगर भलमन्सा समितिका अध्यक्ष अमर चौधरीले माघी पर्व थारु समुदायले नयाँ वर्षका रूपमा मनाउने परम्परा रहेको बताउनुभयो । प्रत्येक वर्ष गाउँ टोलमा नयाँ भलमन्सा चयन गर्ने चलन रहेको उल्लेख गर्दै उहाँले माघीले थारु समुदायको ऐतिहासिक संस्कार, जीवनशैली र सांस्कृतिक सम्पदालाई भावी पुस्तासम्म हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्नुभयो।समापन कार्यक्रममा गायक सोनु कुस्मीको बेजोड प्रस्तुति रहेको थियो।म्यालाको अवसरमा रक्तदान कार्यक्रमसहित थारु समुदायको मौलिक कला, संस्कृति र पहिचान झल्किने परम्परागत खानाका परिकार तथा ऐतिहासिक सामग्रीहरूको प्रदर्शनी गरिएको थियोे । साथै सखिया, मघौटा, झुम्रा र रानाथारु समुदायको होरी नाच पनि प्रस्तुत गरिएको बताइएको छ । यसरी पश्चिम तराईका थारु बस्तीहरूमा माघी पर्वले संस्कृति, परम्परा र सामूहिकताको उत्सवलाई अझै गहिरो बनाउँदै राष्ट्रिय स्तरमै सांस्कृतिक विविधता र एकताको सन्देश प्रवाह गरिरहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट