माधब पौडेल, १५असोज।कञ्चनपुरको बेलौरी नगरपालिकामा ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ज्येष्ठ नागरिक समाज बेलौरी नगर कार्यसमितिको आयोजनामा बिहीबार बेलौरी नगरपालिका वडा नं ४ को सभाहलमा आयोजित कार्यक्रममा नगर क्षेत्रका ८३ देखि ८४ वर्ष उमेर समूहका १ सय २ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो।
कार्यक्रममा ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्दै उनीहरूको योगदान, अनुभव र सामाजिक भूमिकाको कदर गरिएको थियो। कार्यक्रममा ज्येष्ठ नागरिकको सम्मान, संरक्षण तथा सामाजिक सुरक्षाका विषयमा समेत छलफल गरिएको थियो।
कार्यक्रमको सभापति जेष्ठ नागरिक समाज बेलौरी नगर कार्य समितिका अध्यक्ष दान सिंह राना, प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी, बिशिष्ट अतिथि पुर्व क्याम्पस प्रमुख प्रेम सिंह बोहरा, जेष्ठ नागरिक समाज केन्द्रिय सदस्य भगवती विष्ट, सुदुर पश्चिम इटा व्यवसायी संघका अध्यक्ष बलदेव बुडाल, बेलौरी नगरपालिका वडा नं ४ का वडाध्यक्ष अर्जुन ढकाल, बेलौरी नगरपालिका वडा नं २का वडाध्यक्ष कलबिर चौधरी, अतिथिमा महाकाली माध्यमिक विद्यालयका पूर्व प्राचार्य केशवराज जोशी,जेष्ठ नागरिक समाजका पूर्व सचिव हरि सिंह विष्ट, लगायत पदाधिकारीहरू,सुरक्षाकर्मी, संचारकर्मीको सहभागिता रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य ज्येष्ठ नागरिक समाज बेलौरी नगर कार्यसमितिका कोषाध्यक्ष टोल प्रकाश पौड्यालले राख्नु भएको थियो।कार्यक्रमको उद्देश्य तथा विषयवस्तुबारे ज्येष्ठ नागरिक समाजका सल्लाहकार प्रेम सिंह बोहराले प्रकाश पारेका थिए। उनले ज्येष्ठ नागरिक दिवस मनाउनुको उद्देश्य, ज्येष्ठ नागरिकको सामाजिक योगदान तथा सम्मान र संरक्षणको आवश्यकताबारे प्रष्ट पार्नुभएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोतिलाल चौधरीले ज्येष्ठ नागरिक समाजका मार्गदर्शक र अनुभवका भण्डार भएकाले उनीहरूको सम्मान र संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताए। ज्येष्ठ नागरिकले परिवार, समाज र राष्ट्र निर्माणमा पुर्याएको योगदानलाई नयाँ पुस्ताले सम्मानपूर्वक ग्रहण गर्नुपर्नेमा उनले जोड दिए। ज्येष्ठ नागरिकका अनुभव र ज्ञानलाई सामाजिक विकाससँग जोड्न सके त्यसबाट समाजले महत्वपूर्ण लाभ लिन सक्ने समेत बताउनुभयो।
त्यस्तै, कार्यक्रमको समापन बोल्दै सभापति दान सिंह रानाले ज्येष्ठ नागरिक दिवस केवल औपचारिक रूपमा मनाउने दिन नभई ज्येष्ठ नागरिकप्रति सम्मान, जिम्मेवारी र कर्तव्य स्मरण गर्ने अवसर भएको बताए। ज्येष्ठ नागरिकको सम्मान र अधिकार सुनिश्चित गर्न परिवार, समाज तथा स्थानीय तहबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। कार्यक्रमको सहजीकरण महाकाली माध्यमिक विद्यालय विद्यानगरका पूर्व प्राचार्य हर्क सिंह कुँवरले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस