माधब पौडेल,२१ श्रावण।दोदा नदीको कटानबाट प्रभावित तथा विपद् जोखिमयुक्त क्षेत्र लालझाडी गाउँपालिका वडा नम्वर २ मा NNSWA, Mercy Corps को सहकार्य लालझाडी गाउँपालिकाको आयोजनामा “हरियाली लालझाडी, सुरक्षित नदी किनार-जलवायुउत्थानशील समुदाय हाम्रो आधार”भन्ने मूल नाराका साथ बिहीबार वृक्षारोपण कार्यक्रमको औपचारिक उद्घाटनसँगै काडेतार र घेराबारसहित वृक्षारोपण गरिएको छ।
कार्यक्रमको प्रमुख आतिथ्यता लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले गर्नुभएको थियो भने कार्यकममा गाउँपालिका उपाध्यक्ष सपना चौधरी राना, प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की, वडा नम्बर २ का वडा अध्यक्ष एवं प्रवक्ता आसाराम राना, कार्यपालिका सदस्य, गाउँपालिकाका कर्मचारी, वडा नम्बर २ विपद् व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय महिला तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
दोदा नदीको निरन्तर कटानका कारण जोखिम बढ्दै गएको क्षेत्रको संरक्षण, हरियाली प्रवर्द्धन तथा वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको लालझाडी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले जानकारी दिनुभयो।

कार्यक्रममा बोल्दै लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले दोदा नदीको कटान न्यूनीकरण, वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनका लागि वृक्षारोपण अभियान प्रभावकारी हुने बताउँदै काडेतार तथा घेराबारसहित रोपिएका बिरुवाको संरक्षणमा स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता संरक्षणमुखी कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।करिब ३ लाख ५० हजार रुपैयाँको लागतमा दोदा नदी किनारमा २५० मिटर तारवार निर्माण गरी सिसौ,मसला,बाँस आँप, भेटेभर घास,पपलर र सगुन लगायतका विरुवाहरु रोपिएको छ।
प्रतिक्रिया दिनुहोस