२०८३ अषाढ १०, बुधबार | Wed, 24, Jun, 2026

बेलौरी नगरपालिकाको आगामी वर्षको बजेट ९४ करोड ५५ लाख


  • २०८३ अषाढ १०, बुधबार मा प्रकाशित ५ घण्टा अघि
  • ४७ पाठक संख्या
  • माधब पौडेल, १० असार।कञ्चनपुरको बेलौरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ९४ करोड ५५ लाख रुपैयाँ बराबरको बजेट तथा नीति–कार्यक्रम सार्वजनिक गरेको छ। नगर सभाको १७औँ अधिवेशनबाट बजेट तथा नीति–कार्यक्रम प्रस्तुत गरिएको हो।बुधबार नगर प्रमुख पोतीलाल चौधरीको अध्यक्षतामा बसेको नगरसभामा प्रस्तुत बजेटमध्ये ७३ करोड ८५ लाख २४ हजार रुपैयाँ चालु खर्च र २० करोड ६९ लाख ७६ हजार रुपैयाँ पूँजीगत खर्चतर्फ विनियोजन गरिएको छ।नगरपालिकाले सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिँदै सडक स्तरोन्नति, शिक्षा तथा स्वास्थ्य सेवाको सुधार, कृषि उत्पादन वृद्धि र स्थानीय आर्थिक गतिविधिको प्रवर्द्धनलाई प्राथमिकतामा राखेको जनाएको छ। बजेटका प्रमुख स्रोतमा संघीय सरकारबाट प्राप्त वित्तीय हस्तान्तरण, राजस्व बाँडफाँड, प्रदेश सरकारको अनुदान, आन्तरिक आय तथा सामाजिक सुरक्षा शीर्षकका रकम रहेका छन्।

    वडा स्तरीय योजनाका लागि ३ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएको छ। जसअन्तर्गत वडा नं. १ मा २४ लाख १० हजार, वडा नं. २ मा ३४ लाख १० हजार, वडा नं. ३ मा २५ लाख १० हजार, वडा नं. ४ मा ३५ लाख १० हजार, वडा नं. ५ मा ३३ लाख १० हजार, वडा नं. ६ मा ३२ लाख १० हजार, वडा नं. ७ मा २८ लाख १० हजार, वडा नं. ८ मा ३६ लाख १० हजार, वडा नं. ९ मा ३३ लाख १० हजार र वडा नं. १० मा ३४ लाख १० हजार रुपैयाँ छुट्याइएको छ। यस्तै नगर गौरवका आयोजना तथा नगरस्तरीय योजनाका लागि २४ करोड रुपैयाँ विनियोजन गरिएको नगर उपप्रमुख जोगराम चौधरीले जानकारी दिनुभयो।बजेटमाथि विस्तृत छलफलपछि पारित गरिने समेत नगर उप प्रमुख चौधरीले बताउनुभयो।नगरसभामा नगर प्रमुख चौधरीले “दिगो कृषि, पर्यटन, व्यापार र उत्थानशील पूर्वाधारः समृद्ध बेलौरीको मूल आधार” भन्ने दीर्घकालीन सोचसहित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो। नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन तथा उद्यम विकासलाई प्राथमिकतामा राखिएको छ।स्वास्थ्यतर्फ बेलौरी क्षेत्रमा देखिँदै आएको सिकलसेल एनेमिया र थालासेमिया रोग नियन्त्रणका लागि विवाहपूर्व अनिवार्य स्वास्थ्य परीक्षण गर्ने नीति ल्याइएको छ। शिक्षातर्फ सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न ‘पढ्दै कमाउँदै’ कार्यक्रम, प्रत्येक विद्यालयमा ई–हाजिरी प्रणाली तथा लोकसेवा आयोग र शिक्षक सेवा आयोग तयारी कक्षा सञ्चालन गर्ने योजना समावेश गरिएको छ।त्यसैगरी भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरूको समस्या समाधानका लागि आगामी आर्थिक वर्षदेखि जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण प्रक्रिया अगाडि बढाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।नगर प्रमुख चौधरीद्वारा प्रस्तुत नीति तथा कार्यक्रम नगरसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। साथै नगरसभाले आर्थिक विधेयक समेत पारित गरेको छ भने अन्य विधेयकहरू दफावार छलफलपछि पारित गरिने नगर प्रवक्ता हर्कबहादुर भुलले जानकारी दिनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट