२०८३ जेष्ठ २२, शुक्रबार | Fri, 05, Jun, 2026

बेलौरी:जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका अवसरमा दलित विद्यार्थीलाई छात्रवृत्ति, पूर्व जनप्रतिनिधि सम्मानित


  • बेलौरी अनलाईन
  • २०८३ जेष्ठ २१, बिहिबार मा प्रकाशित १ दिन अघि
  • १५६ पाठक संख्या
  • माधब पौडेल, २१जेष्ठ। कञ्चनपुरको बेलौरी नगरपालिकाले २१औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका अवसरमा बिहीबार दलित समुदायका विद्यार्थीलाई छात्रवृत्ति वितरण तथा पूर्व जनप्रतिनिधिलाई सम्मान गरेको छ।कार्यक्रममा सभापति बेलौरी नगरपालिकाका नगर प्रवक्ता हर्क बहादुर भुल, प्रमुख अतिथि बेलौरी नगरपालिकाका पोतिलाल चौधरी, विशिष्ट अतिथि बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरी,अतिथिमा बेलौरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज जोशी,बेलौरी नगरपालिकाका वडा नम्बर २ का वडाध्यक्ष कलविर चौधरी,वडा नम्बर ५ का वडाध्यक्ष लाल बहादुर चौधरी, वडा सदस्य, कार्यपालिका सदस्य,निवर्तमान जनप्रतिनिधि, महिला बालबालिका शाखा प्रमुख बिमला बजगाईं,बेलौरी नगरपालिका शिक्षा तथा युवा खेलकुद शाखाका निमित्त शाखा प्रमुख अमित प्रसाद भट्टको सहभागिता रहेको थियो।कार्यक्रममा आधारभूत तहदेखि स्नातक तहसम्म अध्ययनरत ४८ जना दलित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो। नगरपालिकाले आर्थिक अभावका कारण शिक्षा हासिल गर्न कठिनाइ भोगिरहेका विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको जनाएको छ।कार्यक्रममा महाकाली माध्यमिक विद्यालयलाई १ लाख २० हजार रुपैयाँ, लक्ष्मी माध्यमिक विद्यालय जवदियालाई ७८ हजार रुपैयाँ, महाकाली बहुमुखी क्याम्पसलाई ७० हजार रुपैयाँ तथा शान्ति माध्यमिक विद्यालय र त्रिभुवन माध्यमिक विद्यालय रतनपुरलाई जनही ४८ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको थियो। पालिकाबाहिर उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई जनही १० हजार रुपैयाँ नगद छात्रवृत्ति प्रदान गरिएको थियो।कार्यक्रमका विशिष्ट अतिथि नगर उपप्रमुख जोगराम चौधरीले जातिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको शुभकामना व्यक्त गर्दै यस कार्यक्रमले आर्थिक अवस्था कमजोर भएका,दलित समुदायका विद्यार्थीहरुलाई थप प्रोत्साहन हुने बताउनुभयो। कार्यक्रममा सहभागी दलित अगुवाहरूले छात्रवृत्ति कार्यक्रमले दलित समुदायका विद्यार्थीलाई शिक्षातर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। उनीहरूले शिक्षा नै विभेद, गरिबी र पछौटेपनबाट मुक्त हुने सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्। साथै,छात्रवृत्तिले आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुने जोखिम कम गर्नुका साथै विद्यार्थीमा आत्मविश्वास र प्रतिस्पर्धी भावना विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। कार्यक्रममा बोल्दै सभापति हर्क बहादुर भुलको आज जातिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा पालिकाको तर्फबाट जेहेन्दार, विपन्न र उत्कृष्ट नतिजा ल्याउने दलित विद्यार्थीहरुलाई स्टेशनरी र उच्च शिक्षा छात्रवृत्ति प्रदान गरिएको बताउँदै यस कार्यले अन्य विद्यार्थीहरुमा पढाई लेखाइमा थप रुचि जाग्ने बताउनुभयो।लामो समयदेखि राज्यको हरेको परिवर्तन दलित परिवारका सदस्यले ज्यान गुमाएका समेत बताउनुभयो। शैक्षिक क्रान्तिमा जुट्न आवस्यक रहेको बताउनुभयो।आर्थिक अवस्थाको कमजोरीको हिसाबले वञ्चित नहुने बताउनुभयो। कार्यक्रमको सहजीकरण बेलौरी नगरपालिकाका सहायक कम्प्युटर अपरेटर अशोक पाण्डेयले गर्नुभएको थियो।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट