२०८३ जेष्ठ ११, सोमबार | Mon, 25, May, 2026

कञ्चनपुर क्षेत्र नम्बर १ संघीय निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवारका रुपमा तिलक भट्टको नाम पनि सिफारिस


  • २०८२ पौष २१, सोमबार मा प्रकाशित ४ महिना अघि
  • ७४४ पाठक संख्या
  • बेलौरी,२१ पौष। कंचनपुर जिल्लाको क्षेत्र नम्बर १बाट आगामी संघिय निर्वाचनका लागि नेकपा कम्युनिष्टका तर्फबाट ८ जना प्रतिनिधिसँगै राजनितिमा सक्रिय रहेका तिलक भट्टलाई कञ्चनपुर निर्वाचन क्षेत्र १ बाट उम्मेदवार सिफारिस गरी संगठनले पार्टी केन्द्रिय कार्यसमितिमा पठाएको छ ।

    वि.सं. २०२७ साल जेठ ७ गते कञ्चनपुरको दोधोरा चादँनीको ग्रामिण क्षेत्रमा जन्मनुभएका र २०२८ साल देखि बेलौरी-०३ खिरियामा स्थायी बसोबास गरिरहेका भट्ट नेपाली कम्युनिष्ट आन्दोलनकै समयदेखि निरन्तर सक्रिय व्यक्ति हुन् ।

    भट्टको जन्म सामान्य परिवारमा भएपनि संगठन र समाजमा देखाएको संघर्ष भने असामान्य देखिन्छ । वि.सं. २०४० सालतिर शिक्षक बराल सरको वैचारिक प्रभावबाट कम्युनिष्ट पार्टीमा आवद्ध रहेका भट्ट विद्यार्थी राजनीतिमा प्रवेश गरेलगत्तै २०४४ सालमा सिद्धनाथ विज्ञान क्याम्पसमा अनेरास्ववियु (पाँचौँ) को तर्फबाट स्ववियु सदस्यमा निर्वाचित भए।तत्कालिन राजनितिक परिवेशमा सदस्यमा निर्वाचित हुनु भट्टका लागि सामान्य भने थिएन । तर त्यहि सफलताले उनलाई राजनितिमा उभ्याउने एउटा मार्ग खुलाएको थियो । राजनिति आफ्नो लागि भन्दा समाज रुपान्तरणको मार्गदर्शन हो भन्ने उद्धेश्य बोकेका नेता भट्ट २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा सक्रिय भूमिकामा उभिएका थिए ।

    २०४७ सालपछि भट्टको राजनीतिक यात्रा संगठनात्मक जिम्मेवारीतर्फ उन्मुख भयो । श्रीपुर, लक्ष्मीपुर र शंकरपुर क्षेत्र समेटिएको इलाका संगठन कमिटी सदस्यका रूपमा उनले पार्टी विस्तार र जनसम्पर्कमा सक्रिय भूमिका निर्वाह गरे । त्यही अवधिमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (प्ररायु संघ) लक्ष्मीपुर गाउँ कमिटीको अध्यक्षको जिम्मेवारी सम्हाल्दै युवालाई संगठित गर्ने, वैचारिक रूपमा प्रशिक्षित गर्ने र आन्दोलनमा सक्रिय बनाउने काममा उनी केन्द्रित रहे । २०४८ सालको आम निर्वाचनमा सक्रिय सहभागिता जनाउँदै उनले पार्टी अभियानमा आफूलाई पूर्ण रूपमा समर्पित गरे ।

    यही वर्ष २०४८/०९/०५ गते नेकपा (एमाले) को संगठित सदस्यता प्राप्त गर्नु उनको राजनीतिक यात्राको औपचारिक र निर्णायक मोड बन्यो । त्यसपछि २०४९ मा लक्ष्मीपुर गाउँ विकास समिति र कञ्चनपुर जिल्ला विकास समितिको निर्वाचन प्रक्रियामा सक्रिय रहँदै स्थानीय तहमा पार्टीको उपस्थिति सुदृढ बनाउन योगदान पुर्याए । २०५१ सालको मध्यावधि निर्वाचनमा पनि उनी उत्तिकै सक्रिय रहे । २०५१ देखि २०६१ सम्म साविक लक्ष्मीपुर गाउँ कमिटीको संस्थापक सचिवका रूपमा काम गर्नु संगठन निर्माणमा उनको महत्वपूर्ण योगदानका रूपमा स्मरणीय छ । यही अवधिमा २०५१ मंसिरमा नेकपा (एमाले) जिल्ला सल्लाहकार सदस्यको जिम्मेवारी पाउनु पार्टीभित्र उनको अनुभव, निरन्तरता र परिपक्वताको औपचारिक मान्यता थियो ।

    उनको योगदान पार्टी राजनीतिमा मात्र सीमित रहेन । २०५१–२०६३ सम्म लक्ष्मी माध्यमिक विद्यालय, जवदियाको व्यवस्थापन समिति सदस्यका रूपमा शिक्षा क्षेत्रको सुधारमा उनले भूमिका खेले । २०५३ मा पुष्पलाल स्मृति प्राथमिक विद्यालय, खिरियाको संस्थापक तथा व्यवस्थापन समिति अध्यक्ष बन्नु कम्युनिष्ट आन्दोलनको सामाजिक उत्तरदायित्व व्यवहारमा उतारिएको उदाहरण हो । २०५४ साल उनको राजनीतिक यात्राको अर्को महत्वपूर्ण मोड बन्यो । साविक लक्ष्मीपुर गाउँ विकास समितिको उपाध्यक्ष पदमा सर्वाधिक मतसहित निर्वाचित हुनु जनतासँगको भरोसा र स्वीकार्यताको ठोस प्रमाण थियो। यही वर्ष नेपालगञ्जमा सम्पन्न नेकपा (एमाले) को छैटौँ महाधिवेशनमा स्वयंसेवकका रूपमा खटिनु पार्टीप्रतिको निष्ठा र संगठनात्मक अनुशासनको परिचायक बन्यो ।

    २०५५ मा प्ररायु संघ कञ्चनपुरबाट राष्ट्रिय सम्मेलन प्रतिनिधि, पिपुल्स भोलिन्टियर्स महाकाली निर्देशक तथा २०५६ मा केन्द्रीय स्कुल विभागद्वारा सञ्चालित महाकाली अञ्चलस्तरीय प्रशिक्षणमा सहभागिताले उनको वैचारिक र संगठनात्मक क्षमता थप सुदृढ गर्यो । २०५७ देखि २०६५ सम्म निर्वाचन क्षेत्रीय समन्वय कमिटी सदस्यका रूपमा उनले पार्टी–जनसम्पर्क र निर्वाचन व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरे । तर २०६५ देखि २०७७ सम्मको अवधि उनको राजनीतिक जीवनको सबैभन्दा कठिन चरण रह्यो ।

    आन्तरिक पार्टी गुटबन्दी र संरचनागत अवरोधका कारण औपचारिक जिम्मेवारीबाट टाढा रहनुपरे पनि उनले सिद्धान्त, विचार र आन्दोलनप्रतिको निष्ठामा कहिल्यै सम्झौता गरेनन् । जिम्मेवारी नहुँदा पनि आन्दोलनलाई धोका नदिने अडान नै उनको राजनीतिक चरित्रको मूल पहिचान हो । आन्दोलनप्रतिको इमान्दारीको मूल्यांकन एक दिन अवश्य हुनेछ भन्ने विश्वाससहित उनले धैर्यपूर्वक प्रतीक्षा गरे । करिब बाह्र वर्षपछि, २०७८ मा उनी पुनः सक्रिय राजनीतिमा फर्किए ।२०७८–२०८१ सम्म नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्यका रूपमा उनले प्रदेशस्तरीय राजनीतिमा जिम्मेवारी वहन गरे । २०७८ मै सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीको स्वकीय सचिवको रूपमा कार्य गर्दै नीतिगत र कार्यकारी अनुभव पनि हासिल गरे । २०८१–२०८२ मा नेकपा (एस) केन्द्रीय लेखा परीक्षण आयोग सचिवालय सदस्य (सुदूरपश्चिम प्रदेश संयोजक) का रूपमा पार्टीभित्र पारदर्शिता, अनुशासन र संस्थागत सुदृढीकरणमा योगदान दिइरहेका छन्। पछिल्लो समय नेकपा (एस), नेकपा (माओवादी केन्द्र) लगायतका कम्युनिष्ट शक्तिहरूको एकतापछि गठित नेपाली कम्युनिष्ट पार्टीका सक्रिय सदस्य छन्।

    विद्यार्थी राजनीतिदेखि स्थानीय सरकार, संगठन निर्माणदेखि प्रदेशस्तरीय जिम्मेवारीसम्म फैलिएको उनको राजनीतिक जीवनमा कुनै आकस्मिक अवसर, पदप्राप्तिको आकांक्षा वा क्षणिक लाभको परिणाम थिएन।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट