लालझाडी,२२ श्रावण।कञ्चनपुरमा अनुदानमा कृषि सामग्री दिने भन्दै ठगिएका किसानले सहकरी कार्यालयमा तालाबन्दी गरेका छन । ५० प्रतिशत अनुदानमा कृषि उपकरण दिने भन्दै दुईवटा सहकारी र सुरो नेपाल नामक गैरसरकारी संस्थाले कञ्चनपुरको लालझाडीका साढे तीन सय किसानको अढाई करोड रकम उठाएका थिए ।तर एक वर्षसम्म पैसा वा उपकरण दुवै नपाएपछि किसानले बुधबार सहकारीमा तालाबन्दी गरेका हुन ।

सुरो नेपालमार्फत पावरटिलर, पानी तान्ने मोटर, घाँस काट्ने चारा मेसिन उपलब्ध गराउने भन्दै अनमोल कृषि सहकारी र दोदा साना किसान सहकारीले पैसा उठाएका थिए । गत वर्ष अनमोलले ११० किसानबाट ४८ लाख ४६ हजार र दोदा साना किसान सहकारीले अढाई सय किसानबाट एक करोड ९३ लाख रुपैयाँ संकलन गरेका थियो ।
कृषि सामग्री खरिदका लागि कृषिउपज बिक्री–वितरणदेखि सहकारी, बैंक, आफन्तबाट ऋण निकालेर सहकारीलाई अग्रिम पैसा बुझाएका किसान बिचल्लीमा छन् ।पटक–पटक पैसा फिर्ता माग्दा पनि नपाएपछि तालाबन्दी गरिएको लालझाडीका किसान अर्जुन चौधरीले बताउनुभयो।
अर्का किसान खडक रानाले आफूले अनमोल किसान सहकारीमै गएर रकम बुझाएको बताउनुभयो।आधुनिक कृषि औजार खरिद गरेर कृषि गर्न खोजेको पनि ठगिएपछि समस्यामा परेको बताउनुभयो।स्थानीयले सुरो नेपालले किसानबाट लाखौँ रकम संकलन गरेर आफूहरूको बिचल्ली बनाएको बताउँछन्। किसानलाई कृषि सामग्री दिन्छु भन्दै किसानबाट लाखौँ रकम संकलन गरेर केही मान्छे विदेश भ्रमणमा घुम्न गएको समेत बताउनुभयो।किसानबाट संकलन भएको रकम केही सुरो नेपाल लालझाडीका स्थानीय एजेन्ट, सहकारीदेखि व्यक्तिहरूले दुरुपयोग गरेको दाबी गरेका छन् ।
कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले ठगी मुद्दामा अनुसन्धान भइरहको बताउनुभयो।सुरो नेपालका अध्यक्ष सुशीला खड्का, सहयोगी सुनिता चौधरी पुर्पक्षका लागि कारागारमा छन् । सहकारीबाट टीकाराम चौधरी र नवराज ओझाविरुद्ध पनि उजुरी परेको थियो।सुरो नेपालको नाममा कैलालीका बिभिन्न क्षेत्रमा पनि किसान ठगिएका छन ।
प्रतिक्रिया दिनुहोस