माधब पौडेल,२५असार।कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ मा रहेको लक्ष्मी माध्यमिक विद्यालय जबदियाबाट शैक्षिक सत्र २०८१ को एसइई परीक्षामा सफल भएका विद्यार्थीहरूलाई बुधबार एक कार्यक्रमका बीच विद्यालयले सम्मान गरेको छ।
एसइई परीक्षामा ३ जिपिए भन्दा बढी नतिजा ल्याउने ८ जना विद्यार्थी मध्ये सामुदायिक विद्यालय तर्फबाट विद्यालयकी छात्रा रोशनी खनालले ३.८७ जिपिए प्राप्त गरी बेलौरी नगरपालिकामा प्रथम स्थान प्राप्त गरेको प्रधानाध्यापक वीरेन्द्र सिंह भण्डारीले जानकारी दिनुभयो। एसइई परीक्षामा उत्तीर्ण भएका २२ जना विद्यार्थी र अभिभावकलाई सम्मान गरिएको थियो।

सभापतिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नमराज शाही, प्रमुख अतिथिमा बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी, विशिष्ट अतिथिमा बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरी, बेलौरी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष कलवीर चौधरी,विद्यालयका सहायक प्रधानाध्यापक अनिल पाण्डेय,जिल्ला खेलकुद समितिका कोषाध्यक्ष सुरेन्द्र शाही, नगर खेलकुद समितिका सदस्य भूपेन्द्र शाही, शिक्षक लगायत स्थानीय सञ्चारकर्मीको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख पोतिलाल चौधरीले राम्रो नतिजा ल्याई पास हुनुभएका विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यको कामना व्यक्त गर्नुभयो। विद्यालयका लागि पालिकले गर्नुपर्ने सहयोगमा कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।कार्यक्रममा बोल्दै सभापति नमराज शाहीले शैक्षिक सत्र २०८१ मा सफल भएका सम्पूर्ण विद्यार्थीहरूको उज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक वीरेन्द्र सिंह भण्डारीले गर्नुभएको थियो।
प्रतिक्रिया दिनुहोस