नवराज अवस्थी / हरिश्चन्द्र बाग, कञ्चनपुर, ०९ फागुन । मेलमिलाप प्रक्रियालाई थप प्रभावकारी बनाउँदै समुदायमा विवाद समाधानलाई सहज बनाउने उद्देश्यले बेलौरी नगरपालिका, न्यायिक समितिको आयोजनामा तीन दिवसीय पुनर्ताजगी तालिम सुरु भएको छ ।

शुक्रबारदेखि सुरु भएको उक्त तालिम यही फागुन ११ गतेसम्म बेलौरी नगरपालिकाको सभा हलमा सञ्चालन हुने बताइएको छ । तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै बेलौरी नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक जोगाराम चौधरीले मेलमिलाप प्रक्रियाले कानुनी प्रणालीलाई सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो । “समाजमा साना-तिना विवादहरू अदालतसम्म लैजानु भन्दा मेलमिलाप प्रक्रियाबाट सहमतिमै समाधान खोज्नु समय, श्रम र आर्थिक रूपमा लाभदायक हुन्छ । यस तालिमले मेलमिलापकर्ताहरूलाई थप दक्ष बनाउने छ,” उहाँले भन्नुभयो ।
तालिममा मेलमिलाप प्रक्रियाका सिद्धान्त, कानुनी आधार, व्यवहारिक पक्ष तथा विवाद समाधानका विविध रणनीतिहरूबारे प्रशिक्षण प्रदान गरिने न्यायिक समितिका सदस्य शिवराज रानाले जानकारी दिनुभएको छ । बेलौरी नगरपालिका न्यायिक समितिले समाजमा न्यायिक पहुँचलाई सुलभ बनाउन मेलमिलाप प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले यो तालिमको आयोजना गरेको न्यायिक समितिका सदस्य आरती चौधरीको भनाइ छ । अधिवक्ता झंकर कुँवर र तेजराज उपाध्यायले प्रशिक्षकका रूपमा सहभागीहरुलाई प्रशिक्षण दिइरहनु भएको छ । उहाँहरूले व्यवहारिक अनुभव तथा कानुनी संरचनाका आधारमा मेलमिलाप प्रक्रियालाई प्रभावकारी बनाउने विधिहरूबारे मार्गदर्शन गर्ने बताइएको छ । कार्यक्रममा नगरपालिकाका पदाधिकारी, कानुनी विज्ञ, स्थानीय मेलमिलापकर्ताहरू तथा सम्बन्धित क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको छ ।
प्रतिक्रिया दिनुहोस