हरिश्चन्द्र बाग, कञ्चनपुर, १५ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कञ्चनपुरको बेलौरीस्थित ईशान मेमोरियल अस्पताललाई सर्प दंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति प्रदान गरेको छ । स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आज सर्प दंश उपचार केन्द्र सञ्चालनको अनुमति दिएको ईशान मेमोरियल अस्पतालका अध्यक्ष आई जङ्ग कुँवरले जानकारी दिनुभयो ।
विषालु सर्पको डसाइबाट बर्सेनि धेरै घाइते हुने र अस्पताल टाढा हुँदा उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था थियो । यहाँका बासिन्दाले विगत लामो समयदेखि स्थानीय क्षेत्रमै सर्प दंश उपचार केन्द्रको माग गर्दै आएकोमा अब ईशान मेमोरियल अस्पतालले अनुमति पाएसँगै त्यसको व्यवस्थापन गर्न तल्लीन रहेको अस्पतालका अध्यक्ष कुँवरको भनाइ छ ।महाशाखाले चार वर्षका लागि अनुमति प्रमाणपत्र जारी गरेको छ । स्वास्थ्य विभागले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मार्फत सर्प दंश उपचार केन्द्र सञ्चालनका लागि अस्पताललाई आवश्यकता अनुसार ‘एन्टी स्नेक भेनम’ उपलब्ध गराउने छ । सेवा सञ्चालन भएपछि सर्प दंशका बिरामीहरूले अतिरिक्त औषधि र सुविधा बाहेक कुनै शुल्क तिर्नु नपर्ने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस