कञ्चनपुर, २२ मङ्सिर । असोज २० गतेका दिन हमासले इजरायलमा गरेको आक्रमणका क्रममा बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीका परिवारजनले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन् । धनगढी विमानस्थलमा विपिनका आमाबुवा सहित परिवारजनले प्रधानमन्त्री दाहाललाई भेटेर यथाशीघ्र विपिनको अवस्था पत्ता लगाई सकुशल उद्धारका लागि अनुरोध गरेका छन् । प्रधानमन्त्री दाहालले विपिन हमासको नियन्त्रणमा रहेको भनिएको र उनको रिहाइको लागि नेपाल सरकारले कूटनीतिक पहल गरिरहेको आश्वासन दिनुभएको छ ।
प्रधानमन्त्रीसँगको भेटमा छोराको उद्धारका लागि सरकारले थप पहल गर्ने आश्वासन मिलेको विपिनका बुवा महानन्द जोशी बताउनु हुन्छ । सरकारले पहल गरिरहेको भने पनि पहिलो चरणको अल्पकालीन युद्ध विरामका समयमा छोराको रिहाइ हुने आशा गरेका परिवारजन अहिले थप निराश भएका छन् । इजरायली सेनालाई उद्धृत गर्दै इजरायल स्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयले विपिन हमासको नियन्त्रणमा रहेको पुष्टि गरे पनि उनको अवस्था अझै अज्ञात छ । सरकारले थप कूटनीतिक पहल गरेरै भए पनि छोराको उद्धार गरिदिन परिवारजनको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस