पुनर्वास, १३ श्रावण ।कंचनपुरको पुनर्वास नगरपालिका-१० दोदा पुलबाट ब्राउन सुगर बोकेर आउदै गरेका सशस्त्र प्रहरीका जवान सहित दुईजना पक्राउ परेका छन् ।

शनिबार दिउँसो धनगढी तर्फ जादै गरेको अवस्थामा सु.प.प्र.०२-००३ प. ६४३१ नम्बरको अपाची मोटरसाईकलको प्लग र हेडलाईटमा लुकाएको अवस्थामा १ सय २० मिलिग्राम ब्राउन सुगर फेला परेपछि सशस्त्र प्रहरीका जवान सहित दुई जना पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-३, बिशालनगर बस्ने २८ वर्षिय प्रदीप पाख्रीन र धनगढी उपमहानगरपालिका-१, शिबनगर बस्ने ३२ वर्षिय बिकल मगर रहेको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिपेन्द्र किमाडीले जानकारी दिनुभयो ।
प्रहरी सहायक निरीक्षक किमाडीले पक्राउ परेका पाख्रीन बिओपी दार्चुलामा कार्यरत सशस्त्र प्रहरी जवान रहेको बताउनुभयो ।चेकजाँचका क्रममा सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएका प्रहरी सहायक निरीक्षक किमाडीको आरआईटी टिमसंगै ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती टोलीको सहायता थियो ।पक्राउ परेका दुबैजनालाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको जिम्मा लगाईएको छ ।
प्रतिक्रिया दिनुहोस