किशोर तामाङ,कञ्चनपुर, ३०श्रावण।सुदूरपश्चिमको मौलिक सांस्कृतिक पर्व ओल्केको अवसरमा कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा ‘ओल्के हेरिटेज साइकल राइड २०८३’ सम्पन्न भएको छ। स्थानीय संस्कृति, प्राकृतिक सम्पदा र पर्यटनको प्रवर्द्धनसँगै स्वस्थ जीवनशैली तथा वातावरण संरक्षणको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको साइकल यात्रामा सहभागीहरूले ३१ किलोमिटर दूरी तय गरेका छन्।
पुनर्वास साइकल राइडर्सका संयोजक कञ्चन गिरीको संयोजकत्वमा आयोजित साइकल यात्रा आईबीआरडी बजारस्थित पुनर्वास बाल उद्यान (बजार पार्क)बाट सुरु भएको थियो। साइकल यात्रीहरू प्याराताल हुँदै पुनर्वास नगरपालिकासम्म पुगेपछि यात्रा सम्पन्न भएको हो।

सुदूरपश्चिममा मौलिक सांस्कृतिक पर्वका रूपमा मनाइँदै आएको ओल्के ठूलाबडा तथा मान्यजनप्रति सम्मान प्रकट गर्ने, आफन्त तथा इष्टमित्रबीच भेटघाट गर्ने र आपसी आत्मीयता तथा सद्भाव साटासाट गर्ने पर्व हो। यही सांस्कृतिक परम्परालाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले यस वर्ष ओल्केलाई साइकल यात्रासँग जोडेर फरक शैलीमा मनाइएको आयोजकले जनाएको छ।
साइकल यात्रामार्फत पुनर्वासका प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदालाई नजिकबाट चिनाउने प्रयास गरिएको सहभागी साइकल यात्रीहरूले बताएका छन्। विशेषगरी प्याराताल, ग्रामीण बस्ती, हरियाली र प्राकृतिक दृश्यलाई साइकल पर्यटनसँग जोडेर प्रचारप्रसार गर्ने उद्देश्य रहेको उनीहरूको भनाइ छ।
साइकल यात्री गौरव शर्माले पुनर्वासमा नियमित साइकल चलाउनेहरूको संख्या पछिल्लो समय बढ्दै गएको बताउनुभयो। साइकलमार्फत स्थानीय पर्यटकीय क्षेत्रको पहिचान विस्तार गर्न सकिने उल्लेख गर्दै उनले ‘हेरिटेज राइड’ले स्थानीय बासिन्दाका साथै बाह्य पर्यटकलाई समेत पुनर्वासका प्राकृतिक तथा सांस्कृतिक सम्पदाबारे जानकारी गराउन सहयोग पुग्ने बताउनुभयो।
साइकल राइडर शंकर बोगटीले विगतमा छोटो दूरीको यात्रा तथा दैनिक कामकाजका लागि बढी प्रयोग हुने साइकल अहिले स्वास्थ्य, वातावरण संरक्षण र मनोरञ्जनको माध्यमका रूपमा समेत लोकप्रिय बन्दै गएको बताउनुभयो।
साइकल यात्री रमेश विश्वकर्माले साइकल यात्रा मनोरञ्जनमा मात्र सीमित नरही स्थानीय सम्पदा, संस्कृति र पर्यटन प्रवर्द्धनको प्रभावकारी माध्यम बन्न सक्ने बताउनुभयो। “साइकल चलाउँदै पुनर्वासका गाउँबस्ती, हरियाली र प्राकृतिक क्षेत्रलाई नजिकबाट अनुभव गर्ने अवसर मिलेको छ। यस्ता कार्यक्रमलाई निरन्तरता दिन सके पुनर्वासको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।
त्यस्तै, चन्द्रबहादुर थापाले साइकल चलाउने संस्कृतिलाई स्थानीय पर्यटनसँग जोड्न सके युवापुस्तामा स्वास्थ्यप्रतिको चेतना बढ्नुका साथै आफ्नै ठाउँका पर्यटकीय सम्भावनाबारे जानकारी विस्तार हुने बताउनुभयो। “हाम्रो उद्देश्य साइकल चलाउनु मात्र होइन, साइकलसँगै आफ्नो ठाउँको संस्कृति, प्रकृति र पहिचानलाई पनि अगाडि बढाउन सकिने बताउनुभयो।
साइकलप्रेमीहरूका अनुसार स्वास्थ्यप्रति सचेत नागरिक साइकल चलाउनेतर्फ आकर्षित हुनुको प्रमुख कारण यसबाट हुने शारीरिक तथा मानसिक फाइदा हो। नियमित साइकल चलाउँदा शारीरिक सक्रियता बढ्नुका साथै मुटुको स्वास्थ्य, मांसपेशीको क्षमता र तौल व्यवस्थापनमा समेत सहयोग पुग्ने भएकाले साइकललाई सहज व्यायामका रूपमा लिन थालिएको पुनर्वास उद्योग वाणिज्य संघ शाखा पुनर्वासका अध्यक्ष राजकुमार रायमाझीले बताउनुभयो।
पुनर्वास साइकल राइडर्सका संयोजक कञ्चन गिरीका अनुसार पुनर्वासमा पछिल्लो समय नियमित साइकल चलाउनेहरूको संख्या उत्साहजनक रूपमा बढिरहेको छ। साइकललाई केवल यातायातको साधनमा सीमित नराखी स्वस्थ जीवनशैली, वातावरण संरक्षण र सामाजिक अभियानसँग जोड्नुपर्ने उनको भनाइ छ।“पुनर्वासलाई साइकलको नगरका रूपमा चिनाउने हाम्रो प्रयास हो। साइकल चलाउने संस्कृतिको विकाससँगै पुनर्वासलाई स्वस्थ, स्वच्छ र वातावरणमैत्री बनाउन सकिन्छ,” गिरीले भने।
फारवेष्ट राइडर्सको आयोजनामा भएको ‘ओल्के हेरिटेज’ कार्यक्रममा विभिन्न उमेर समूहका साइकलप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साइकल यात्रामार्फत स्वास्थ्य, वातावरण संरक्षण तथा स्थानीय संस्कृति र सम्पदाको प्रवर्द्धन गर्ने सन्देश दिइएको आयोजकले जनाएको छ।आयोजकका अनुसार आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै पुनर्वासका पर्यटकीय तथा सांस्कृतिक सम्पदालाई साइकल पर्यटनसँग जोड्ने योजना छ। नियमित साइकल राइड, स्थानीय सम्पदाको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धनका गतिविधिलाई विस्तार गर्दै पुनर्वासलाई साइकल पर्यटनको सम्भावनायुक्त गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
प्रतिक्रिया दिनुहोस