२०८३ जेष्ठ २२, शुक्रबार | Fri, 05, Jun, 2026

विपद्को प्रभाव कम गर्न स्थानीय तहमा दक्ष जनशक्ति तयार गरौँ : मन्त्री सार्की


  • २०८३ जेष्ठ २२, शुक्रबार मा प्रकाशित ४ घण्टा अघि
  • ४९ पाठक संख्या
  • माधव पौडेल,२२ जेठ।कञ्चनपुरको बेलौरी नगरपालिकामा विपद् व्यवस्थापनमा समुदायको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको २१ दिने समुदाय विपद् स्वयंसेवक तालिम शुक्रबार सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण हेडक्वार्टर शैलेश्वरी, कञ्चनपुरको आयोजनामा तथा बेलौरी नगरपालिकाको सहकार्यमा सञ्चालित तालिमको समापन समारोह एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको हो।तालिममा बेलौरी नगरपालिकाका विभिन्न वडाबाट छनोट भएका २९ जना स्वयंसेवकहरूलाई भूकम्प, बाढी, आगलागीलगायतका विपद्का समयमा खोज तथा उद्धार, प्राथमिक उपचार, विपद् व्यवस्थापन र समन्वय सम्बन्धी व्यवहारिक ज्ञान तथा सीप प्रदान गरिएको थियो।समापन समारोहमा बेलौरी नगरपालिकाका नगरप्रमुख पोतीलाल चौधरीको सभापतित्व तथा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिंह सार्कीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बैद्यनाथ बाहिनी नं. ७ का बाहिनीपति दिग विजय सुवेदी, नगर उपप्रमुख जोगराम चौधरी,प्रमुख प्रशासकीय अधिकृत खेमराज जोशी, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, सशस्त्र प्रहरी बल प्रस्ताविक गुल्म बेलौरीका प्रमुख योग्य बस्नेत, इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी वरिष्ठ नायब निरीक्षक वीर सिंह धामी,तथा APESWAN र ACTION संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

    कार्यक्रममा बोल्दै नगर उप प्रमुख जोगराम चौधरीले विपद् जुनसुकै बेला पनि आउन सक्छ। त्यसैले उद्धार कार्य सबैभन्दा महत्त्वपूर्ण हुन्छ। यस तालिमले उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताउँदै बेलौरी नगरपालिकाले विपद्का लागि आवश्यक सामग्री प्रभावित वडाहरूमा पठाइसकेको जानकारी दिनुभयो

    कार्यक्रममा बोल्दै बैद्यनाथ बाहिनी नं. ७ अत्ट्रिया बाहिनीपति दिग विजय सुवेदीले विपद् व्यवस्थापनमा सुरक्षा निकाय र समुदायबीचको सहकार्य अपरिहार्य रहेको बताउँदै यस्ता कार्यक्रमले उद्धार तथा राहत कार्यलाई अझ प्रभावकारी बनाउने धारणा व्यक्त गर्नुभयो।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री हिरा सिंह सार्कीले विपद्को समयमा सरकारी संयन्त्र मात्र पर्याप्त नहुने भन्दै समुदायस्तरमा दक्ष जनशक्ति तयार गर्नु आवश्यक रहेको बताउँदै विपद् जुनसुकै बेला आउन सक्छ। त्यसको प्रभाव कम गर्न स्थानीय स्तरमै दक्ष स्वयंसेवक तयार हुनु आजको आवश्यकता हो।यस्ता तालिमले समुदायलाई आत्मनिर्भर र सुरक्षित बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

    कार्यक्रमको समापनमा बोल्दै सभापति तथा नगरप्रमुख पोतीलाल चौधरीले विपद् व्यवस्थापनलाई नगरपालिकाले प्राथमिकतामा राखेको उल्लेख गर्दै प्रशिक्षित स्वयंसेवकहरू समुदायका लागि उदाहरणीय बन्ने विश्वास व्यक्त व्यक्त गर्दै तालिममा सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्दै समुदायको सुरक्षामा सक्रिय भूमिका निर्वाह गर्न सहभागीहरू सफल हुने बताउनुभयो।

    तालिमले स्थानीय समुदायलाई विपद् प्रतिकार्यमा अझ सक्षम, जिम्मेवार र आत्मनिर्भर बनाउने अपेक्षा गरिएको छ। साथै सशस्त्र प्रहरी बलले आगामी दिनमा पनि स्थानीय तहसँगको सहकार्यमा यस्ता क्षमता विकाससम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

    तालिम प्रदान गर्ने प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने कार्यक्रममा उपस्थित प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रमको सहजीकरण विपद् व्यवस्थापन फोकल पर्सन अशोक पाण्डेयले गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट