२०८३ जेष्ठ २२, शुक्रबार | Fri, 05, Jun, 2026

विदेशमा रहेका नेपालीलाई मताधिकार दिनुपर्ने कि नपर्ने ? दोधाराचाँदनीमा युवाहरूबीच बहस 


  • २०८३ जेष्ठ १९, मंगलबार मा प्रकाशित ३ दिन अघि
  • ६९ पाठक संख्या
  • कञ्चनपुर, १९ जेठ । नेपालमा मताधिकारको प्रयोग, लोकतान्त्रिक सहभागिता तथा विदेशमा रहेका नेपाली नागरिकको मतदान गर्न पाउने अधिकारको विषयमा केन्द्रित नयाँ बहस सुरु भएको छ । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा मंगलबार सोही विषय केन्द्रित वृहत् युवा अन्तरक्रिया कार्यक्रम गरिएको छ । इन्टरनेशनल आइडियाको सहयोगमा सूचनाको हकका लागि राष्ट्रिय महासंघले आयोजना गरेको कार्यक्रममा दोधाराचाँदनीका ४० जना भन्दा बढी युवाहरू, स्थानीय जनप्रतिनिधि, सरोकारवाला तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।कार्यक्रमको उद्घाटन सत्रमा सूचनाको हकका लागि राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष उमिद बागचन्दले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै लोकतन्त्रको सुदृढीकरणका लागि नागरिक सहभागिता अपरिहार्य रहेको बताए । उनले मताधिकार नागरिकको आधारभूत राजनीतिक अधिकार भएकाले यसको प्रभावकारी प्रयोगले मात्र लोकतान्त्रिक शासन व्यवस्थालाई बलियो बनाउन सकिने उल्लेख गरे । “नेपालबाट लाखौँ नागरिक रोजगारी, अध्ययन र विभिन्न कारणले विदेशमा छन् । उनीहरू देशको अर्थतन्त्रमा ठूलो योगदान गरिरहेका छन् । तर उनीहरूको राजनीतिक सहभागिताको विषय अहिले नयाँ बहसकै विषय बनेको छ । यही विषयमा युवाहरूको धारणा संकलन गरी नीति निर्माण तहसम्म पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो,” उनले भने ।

    दोधाराचाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र जोशीले शुभकामना मन्तव्य व्यक्त गर्दै लोकतान्त्रिक अभ्यासमा युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताए । उनले निर्वाचन मतदानमा सीमित विषय नभई नागरिक जिम्मेवारी र लोकतान्त्रिक संस्कृतिसँग जोडिएको विषय भएको उल्लेख गरे ।

    कार्यक्रममा सूचनाको हकका लागि राष्ट्रिय महासंघका कञ्चनपुर जिल्ला संयोजक हरिश्चन्द्र बागले “दोधाराचाँदनीको वस्तुस्थिति र निर्वाचनमा सहभागिता” विषयमा प्रस्तुतीकरण गरेका थिए । उनले दोधाराचाँदनी नगरपालिकाको ऐतिहासिक, सामाजिक, आर्थिक तथा राजनीतिक अवस्थाबारे जानकारी गराउँदै निर्वाचनमा मतदाताको सहभागिता, मतदानको प्रवृत्ति तथा युवाहरूको भूमिकाका विषयमा तथ्याङ्कसहित प्रस्तुति दिएका थिए । उनले पछिल्ला स्थानीय तह, प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनहरूमा देखिएको मतदाता सहभागिता, युवा मतदाताको आकर्षण तथा निर्वाचनप्रतिको जनचासोका पक्षहरू प्रस्तुत गरेका थिए । साथै सीमावर्ती नगरका रूपमा रहेको दोधाराचाँदनीको विशिष्ट सामाजिक संरचना तथा वैदेशिक रोजगारीको प्रभावले निर्वाचनमा पारेको असरबारे पनि चर्चा गरेका थिए ।

    त्यसपछि प्राध्यापक चिरञ्जीवी खनालले नेपालमा मताधिकार, लोकतन्त्रको विकासक्रम, निर्वाचन प्रणाली तथा नागरिक सहभागिताको महत्वबारे विस्तृत प्रस्तुतीकरण गरेका थिए । उनले संविधानले सुनिश्चित गरेको सार्वभौमसत्ताको प्रयोग निर्वाचनमार्फत हुने भएकाले प्रत्येक नागरिकको मतको मूल्य समान रहेको बताए । उनले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनुपर्ने विषयमा विश्वका विभिन्न देशका अभ्यासहरू प्रस्तुत गर्दै नेपालले पनि समयानुकूल कानुनी र प्राविधिक व्यवस्था विकास गर्नुपर्ने धारणा राखे ।

    कार्यक्रमको मुख्य आकर्षणका रूपमा सहभागी युवाहरूलाई चार समूहमा विभाजन गरी विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सम्बन्धी विषयमा सामूहिक छलफल गराइएको थियो ।समूहगत छलफलमा सहभागीहरूले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान गर्न दिनुपर्ने वा नपर्ने, मतदानको व्यवस्था कसरी गर्ने, त्यसबाट उत्पन्न हुने अवसर र चुनौतीहरू तथा आवश्यक कानुनी व्यवस्थाका विषयमा गहन छलफल गरेका थिए ।

    अधिकांश समूहले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिनुपर्ने निष्कर्ष प्रस्तुत गरेका थिए । उनीहरूले विदेशमा रहेका नेपालीहरूले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको, उनीहरू पनि नेपालको नागरिक भएकाले राजनीतिक अधिकारबाट वञ्चित गर्न नहुने तथा लोकतान्त्रिक सहभागिता सुनिश्चित गर्न मताधिकार प्रदान गर्नुपर्ने धारणा राखेका थिए । कतिपय सहभागीहरूले भने मतदानको व्यवस्था गर्दा मतदाताको पहिचान, मतदानको विश्वसनीयता, दोहोरो मतदानको जोखिम तथा प्राविधिक व्यवस्थापनका चुनौतीहरूलाई गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने बताएका थिए ।

    छलफलका क्रममा विदेशस्थित नेपाली नियोगमार्फत मतदान, विद्युतीय मतदान प्रणाली, हुलाकमार्फत मतदान तथा पूर्वदर्ता प्रणालीजस्ता विकल्पहरूबारे सुझाव प्रस्तुत गरिएको थियो । युवाहरूले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार उपलब्ध गराउँदा लोकतान्त्रिक सहभागिता विस्तार हुने, राज्यप्रतिको अपनत्व बढ्ने तथा नीतिगत बहसमा प्रवासी नेपालीहरूको आवाज समावेश हुने अवसर सिर्जना हुने धारणा व्यक्त गरेका थिए । साथै पर्याप्त तयारीबिना यस्तो व्यवस्था लागू गरिए निर्वाचन व्यवस्थापनमा जटिलता आउन सक्ने चेतावनी पनि दिएका थिए । कानुनी व्यवस्थाको सन्दर्भमा संविधान, निर्वाचनसम्बन्धी कानुन तथा मतदाता नामावली व्यवस्थापन प्रणालीमा आवश्यक संशोधन गरी स्पष्ट कानुनी आधार तयार गर्नुपर्ने सहभागीहरूको धारणा थियोे ।

    कार्यक्रमलाई सम्बोधन गर्दै दोधाराचाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बूले लोकतन्त्रलाई बलियो बनाउन युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताए । उनले स्थानीय सरकार नागरिकका आवाज सुन्न र लोकतान्त्रिक अभ्यासलाई प्रवर्द्धन गर्न सदैव प्रतिबद्ध रहेको उल्लेख गरे । “देशभित्र मात्र होइन, विदेशमा रहेका नेपालीहरूको पनि देशप्रति गहिरो सम्बन्ध छ । उनीहरूको राजनीतिक सहभागिताको विषयमा गम्भीर बहस हुनु सकारात्मक पक्ष हो,” उनले भने ।

    त्यसैगरी सूचनाको हकका लागि राष्ट्रिय महासंघका सहजकर्ता किरण पौडेलले लोकतन्त्र, नागरिक सहभागिता र विदेशमा रहेका नेपाली नागरिकको मताधिकार जस्ता समसामयिक विषयमा केन्द्रित उक्त कार्यक्रमले युवाहरूलाई आफ्नो धारणा खुला रूपमा राख्ने अवसर प्रदान गरेको उनलेे बताएका छन् । मतदान अधिकार संवैधानिक अधिकार मात्र नभई लोकतन्त्रको आधार स्तम्भ भएको बताए । उनले सक्षम नेतृत्व चयन, उत्तरदायी शासन व्यवस्था र नागरिक अधिकारको संरक्षणका लागि निर्वाचनमा सक्रिय सहभागिता आवश्यक रहेको धारणा राखे ।

    कार्यक्रमको समापन गर्दै सूचनाको हकका लागि राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष उमिद बाग्चन्दले अन्तरक्रियाबाट प्राप्त सुझावहरूलाई सम्बन्धित निकायसम्म पुर्‍याइने बताए । उनले युवाहरूले प्रस्तुत गरेका धारणा र सुझावहरूले भविष्यमा निर्वाचन प्रणाली तथा मताधिकार सम्बन्धी नीतिगत बहसलाई थप समृद्ध बनाउने विश्वास व्यक्त गरे । कार्यक्रममा उठेका सुझावहरूले भविष्यमा नेपालको निर्वाचन प्रणालीलाई थप समावेशी र सहभागितामूलक बनाउने बहसलाई नयाँ आयाम दिएको निष्कर्ष निकालिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट