माधब पौडेल, १५ जेष्ठ।निड्स नेपालको आयोजना तथा विश्व वन्यजन्तु कोषको सहयोगमा “जलवायु परिवर्तन एवं पारिस्थितिकिय प्रणालीमा आधारित अनुकूलसम्बन्धी अभिमुखीकरण”कार्यक्रम शुक्रबार सम्झौता बहुद्देश्यीय सहकारी संस्थाको सभाहलमा सम्पन्न भएको छ।
पछिल्लो समय बढ्दो जलवायु परिवर्तनका असर न्यूनीकरण तथा वातावरणीय संरक्षणमा स्थानीय समुदायको भूमिका विषयमा बेलौरी नगरपालिका वडा नं. ५ को उदारपुर सामुदायिक वन उपभोक्ता समूह तथा वडा नं. ९ को गोरखनाथ सामुदायिक वन उपभोक्ता समूहका २० जना वनकर्मीहरूको सहभागिता रहेको थियो।कार्यक्रममा सहभागीहरूलाई जलवायु परिवर्तनका कारण वन, जैविक विविधता, कृषि तथा पानीका स्रोतहरूमा परेको प्रभावबारे जानकारी गराउनुका साथै प्राकृतिक स्रोत संरक्षणमार्फत वातावरणीय सन्तुलन कायम गर्ने उपायबारे प्रशिक्षण दिइएको थियो।
निड्स नेपालका कार्यक्रम संयोजक विनोद कडाराले स्थानीय समुदायलाई जलवायु परिवर्तनका चुनौतीसँग जुध्न सक्षम बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले वन संरक्षण, हरियाली प्रवर्द्धन र प्राकृतिक स्रोतहरूको दिगो उपयोगमार्फत जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न सकिने धारणा राख्नुभयो।कार्यक्रमका सहजकर्ता दिनेशचन्द्र जोशीले पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनका व्यावहारिक उपाय, मानव र वन्यजन्तु बीचको बढ्दो द्वन्द,वन व्यवस्थापन,पानीका स्रोत संरक्षण तथा विपद् जोखिम न्यूनीकरणका विषयमा सहभागीहरूलाई सहजीकरण गर्नुभएको थियो।कार्यक्रममा सहभागी वनकर्मीहरूले पछिल्ला वर्षहरूमा मौसममा आएको असन्तुलन,वन क्षेत्रमा बढ्दो जोखिम तथा पानीका स्रोत सुक्दै जानु जस्ता समस्या चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै समुदायस्तरमै सचेतना र संरक्षण अभियानलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए।
प्रतिक्रिया दिनुहोस