२०८२ माघ २४, शनिबार | Sat, 07, Feb, 2026

ढक्का शिविरका आरक्षपीडितले मनाए १८औँ वार्षिकोत्सव, दीर्घकालीन व्यवस्थापनको माग 


  • २०८२ माघ ८, बिहिबार मा प्रकाशित २ हफ्ता अघि
  • १२९ पाठक संख्या
  • हरिश्चन्द्र बाग, कञ्चनपुर, ०८ माघ।कञ्चनपुरको तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज) विस्तारका क्रममा विस्थापित भएका आरक्षपीडितहरूले ढक्का शिविरमा बसोबास थालेको १८ वर्ष पूरा भएको अवसरमा १८औँ वार्षिकोत्सव मनाएका छन् । २०५८ साल र त्यसअघि आरक्ष विस्तारका नाममा आफ्नो थातथलोबाट विस्थापित गरिएका नागरिकमध्ये २०६४ साल माघ ८ गतेदेखि ढक्का शिविरमा बस्दै आएका पीडित परिवारहरूले बिहीबार वार्षिकोत्सव मनाएका हुन् ।आरक्षपीडित जिल्ला सङ्घर्ष समिति, कञ्चनपुर, ढक्काको आयोजनामा सम्पन्न कार्यक्रममा राजनीतिक, सामाजिक तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा पूर्वमन्त्री तथा नेकपाको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार विना मगर र पूर्व सांसद तथा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार तारा लामा तामाङको समेत सहभागिता रहेको थियो ।कार्यक्रममा सहभागी आरक्षपीडितहरूले आफूहरूको दीर्घकालीन तथा यथोचित व्यवस्थापनका लागि राज्यस्तरबाट प्रभावकारी पहल गरिदिन उम्मेदवारहरूसँग माग गरेका छन् । आरक्षपीडित जिल्ला सङ्घर्ष समिति, कञ्चनपुर, ढक्काका अध्यक्ष मोतीलाल डगौराका अनुसार, पीडित परिवारहरू विगत २४ वर्षदेखि अस्थायी जीवन बिताउन बाध्य छन् । “हामीमध्ये धेरै परिवार अझै पनि जङ्गल तथा खोलानालाको किनारमा झुपडी बनाएर अत्यन्तै कष्टकर जीवन बिताइरहेका छौँ । स्थायी बसोबास, जग्गा, रोजगारी र आधारभूत सेवा सुविधाको सुनिश्चितता आजसम्म हुन सकेको छैन,” अध्यक्ष डगौराले भन्नुभयो । पीडितहरूले स्थायी बसोबासको व्यवस्था, क्षतिपूर्ति, रोजगारीको अवसर, शिक्षा तथा स्वास्थ्य सेवामा सहज पहुँच र दीर्घकालीन पुनः स्थापना योजना कार्यान्वयन गर्न सरकारसँग जोडदार माग गरेका छन् । ढक्का शिविरका आरक्षपीडितहरूले विस्थापित भएदेखि यताका सबै निर्वाचनमा विभिन्न दल तथा उम्मेदवारहरूले चुनावी प्रतिबद्धता जाहेर गरे पनि जितेर गएपछि समस्या समाधानप्रति गम्भीर नहुने गरेको गुनासो गरेका छन् ।

    आरक्षपीडितहरूका अनुसार २०६४ देखि २०७९ सम्म भएका विभिन्न निर्वाचनमा पटक पटक आश्वासन मात्र पाएको तर समस्या समाधान नभएको भन्दै यस पटकको निर्वाचनमा आश्वासनभन्दा पनि प्रत्यक्ष समस्या समाधानको माग गरिएको छ । आरक्षपीडित सङ्घर्ष समितिका महासचिव गोविन्द नेपालीले पीडितहरूले दल, नेता, उम्मेदवार र सरकारबाट आश्वासन त पाउने तर व्यावहारिक रूपमा समस्या समाधानका लागि ठोस पहल नहुने गरेको बताउनुभयो । “अब हामी आश्वासन मात्र होइन, न्यायिक पुनः स्थापनाको ठोस कार्यान्वयन चाहन्छौँ । राज्यले हाम्रो समस्यालाई गम्भीर रूपमा लिनुपर्छ,” महासचिव नेपालीले भन्नुभयो ।

    कार्यक्रमकी प्रमुख अतिथि समेत रहनु भएकी नेकपाकी उम्मेदवार विना मगरले आरक्षपीडित बस्तीमा रहेका समस्या अल्पकालीन र दीर्घकालीन दुवै रूपमा समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले आरक्ष विस्तारका क्रममा विस्थापित भएका नागरिकहरूको पीडा राज्यको जिम्मेवारी भएको उल्लेख गर्दै, सम्बन्धित मन्त्रालय तथा निकायसँग समन्वय गरी समाधानको प्रक्रिया अघि बढाउने बताउनु भयो । त्यस्तै, नेकपा एमालेका उम्मेदवार तारा लामा तामाङले समेत आरक्षपीडितको न्यायिक पुनः स्थापनाका लागि आफ्नो तर्फबाट निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

    आरक्ष विस्तारका क्रममा विस्थापित गरिएका सयौँ परिवारहरूले अझै पनि स्थायी पुनः स्थापना पाउन नसक्दा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ र रोजगारीजस्ता आधारभूत आवश्यकतामा गम्भीर समस्या झेल्दै आएका छन् । पीडित परिवारका अनुसार, पटक पटक सरकार परिवर्तन भए पनि आफूहरूको समस्या समाधान प्राथमिकतामा पर्न सकेको छैन । अस्थायी शिविरमै दशकौँ बिताउनुपर्दा नयाँ पुस्ताको भविष्य समेत अन्योलमा परेको उनीहरूको गुनासो छ ।

    वार्षिकोत्सव कार्यक्रममा पीडितहरूले शान्तिपूर्ण रूपमा आफ्ना मागहरू दोहोर्‍याउँदै न्याय र सम्मानजनक जीवनयापनको अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन् । ढक्का शिविरमा बस्दै आएका आरक्षपीडितहरूले १८औँ वार्षिकोत्सवलाई औपचारिक कार्यक्रम मात्र नभई आफ्ना अधिकार र अस्तित्वका लागि निरन्तर सङ्घर्षको प्रतीकका रूपमा मनाएको आरक्षपीडित सङ्घर्ष समितिका महासचिव गोविन्द नेपालीले जानकारी दिनुभयो । कार्यक्रम आरक्षपीडित सङ्घर्ष समिति, कञ्चनपुरका अध्यक्ष मोतीलाल डगौराको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट