माधव पौडेल / हरिश्चन्द्र बाग, कञ्चनपुर, ०९ मङ्सिर । कञ्चनपुरको लालझाडी गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क अपाङ्गता पहिचान शिविरमा २५९ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा २० जनामा अपाङ्गता पहिचान भएको छ । युरोपियन युनियन र सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्ल्युए) को प्राविधिक सहयोगमा लालझाडी गाउँपालिकाले सोमबार सञ्चालन एक दिवसीय निःशुल्क अपाङ्गता पहिचान स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । लालझाडी गाउँपालिका वडा नम्बर ३ मा रहेको आधारभूत अस्पताल नन्दगाउँमा सञ्चालन गरिएको शिविरमा शारीरिक, आँखा तथा कानसम्बन्धी अपाङ्गता पहिचानलाई प्राथमिकता दिइएको थियो ।
शिविरमा ज्येष्ठ नागरिक, विपन्न, अशक्तदेखि विद्यार्थीसम्म सहभागी भएर स्वास्थ्य परीक्षण गराउनु भएको थियो । कुल २५९ जनाको स्वास्थ्य परीक्षण गरिँदा २० जनामा शारीरिक अपाङ्गता देखिएको एनएनएसडब्ल्युएद्वारा सञ्चालित समावेशी तथा गुणस्तरीय शिक्षा परियोजनाका शिक्षा अधिकृत ऋषिकेश जैरूले जानकारी दिनुभयो । उहाँका अनुसार ५२ जनाको कान परीक्षण तथा १८७ जनाको आँखा परीक्षण गरिएको थियो ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष निर्मल रानाले अपाङ्गता पहिचान, अभिलेखीकरण र सेवा पहुँचलाई व्यवस्थित गर्न यस्ता शिविर अत्यन्तै महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले सामाजिक न्यायको आधार समावेशी शिक्षा भएकाले गाउँपालिकाले यस्ता कार्यक्रमलाई निरन्तर साथ दिने प्रष्ट पार्नुभयो । गाउँपालिकाका उपाध्यक्ष सपना चौधरी रानाले विगतका वर्षहरूमा सञ्चालन गरिएका शिविरमार्फत पहिचान भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरिएको अनुभव सुनाउँदै यस पटक पनि थप वास्तविक अपाङ्गता पहिचानमा जोड दिइएको बताउनुभयो ।

त्यसै गरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले स्थानीय तहका सेवा प्रवाहमा यस्ता स्वास्थ्य शिविरले पूरक भूमिका खेलेको उल्लेख गर्दै अपाङ्गता भएका व्यक्तिहरूका लागि सहज वातावरण निर्माण गर्न संस्था र समुदायको सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । शिविरमा स्वास्थ्य परीक्षण गराउनु भएका लाभग्राहीहरूले गाउँ ठाउँमै निःशुल्क स्वास्थ्य परीक्षण गराउन पाएकोमा खुसी व्यक्त गर्दै यस्ता सेवा नियमित हुनुपर्नेमा जोड दिनु भएको छ ।
प्रतिक्रिया दिनुहोस