२०८३ बैशाख ८, मंगलबार | Tue, 21, Apr, 2026

लालझाडीमा पालिका स्तरीय बाल कचहरी कार्यक्रम सम्पन्न


  • २०८२ कार्तिक ३०, आईतबार मा प्रकाशित ५ महिना अघि
  • ३७८ पाठक संख्या
  • माधब पौडेल, ३० कार्तिक। कञ्चनपुरको लालझाडी गाउँपालिकामा एनएनएसडब्लुए (NNSWA) ले सञ्चालन गर्दै आएको समावेशी तथा गुणस्तरिय शिक्षा परियोजना अन्तर्गत आइतबार पालिका स्तरीय बाल कचहरी कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना, उपाध्यक्ष सपना चौधरी राना, प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्की, शिक्षा शाखा प्रमुख सिद्धराज भट्ट, वडा नं. २ का वडाध्यक्ष आशाराम राना, साथै विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकको उपस्थिति रहेको थियो।

    सामुदायिक विद्यालयमा अध्ययनरत छ वटा विद्यालयका विद्यार्थीहरूको सहभागितामा आयोजित कचहरीमा बालअधिकार, बजेट विनियोजन, लैङ्गिक हिंसा, घरेलु हिंसा, निःशुल्क शिक्षा, विद्यालय दरबन्दी तथा खेलकुद सामग्रीका बजेटलगायत विषयमा विद्यार्थीले जनप्रतिनिधिसँग प्रत्यक्ष प्रश्नोत्तर गरेका थिए।

    कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष सपना चौधरी रानाले बाल कचहरीले विद्यार्थीको आत्मविश्वास र प्रश्न गर्ने क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै विद्यार्थी र जनप्रतिनिधिबीचको प्रश्न–उत्तरबाट धेरै ज्ञान आदान–प्रदान भयो। यसले विद्यार्थीको नेतृत्व क्षमता र बौद्धिक विकासलाई अझ बलियो बनाउने बताउनुभयो।

    गाउँपालिका अध्यक्ष निर्मल रानाले स्थानीय सरकार बालमैत्री बनाउने लक्ष्य अनुरूप शिक्षामा आवश्यक बजेट र नीतिगत सहयोग गरिरहेको बताउँदै घरको आर्थिक अवस्था कमजोर भएर कोही पनि बालबालिका शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले छात्रवृत्ति एवं अन्य सहयोगका कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो।विद्यालयमा पूर्ण दरबन्दी, गुणस्तरीय शिक्षा र नियमित अनुगमनलाई प्राथमिकतामा राखिएको समेत अध्यक्ष राना बताउनुभयो।

    प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले बालमैत्री कार्यक्रमलाई संस्थागत रूपमा अघि बढाउन प्रशासनबाट निरन्तर सहयोग रहने बताउनुभयो।एनएनएसडब्लुएको समावेशी तथा गुणस्तरिय शिक्षा परियोजना कार्यक्रम अधिकृत ऋषिकेश जैरूले विद्यालयबाहिर रहेका जोखिमयुक्त बालबालिकालाई पुनः विद्यालयमै ल्याउने उद्देश्यका साथ कार्यक्रम २०८४ सम्म निरन्तर रहने बताउँदै कसैलाई पनि पढाइबाट वञ्चित हुन नदिन हाम्रो कार्यक्रम लागिरहेको कार्यक्रम अधिकृत ऋषिकेश जैरूले जानकारी दिनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट