खेमराज जोशी,११ असोज।कैलालीको जोशीपुर ईलाका प्रहरी कार्यालय दरबन्दी अनुसार २३ जना प्रहरीको कोटा रहेको छ । तर अहिले ६ जना प्रहरी मात्रै रहेका छन् । चाडपर्व नजिकिँदै जाँदा यस क्षेत्रको सुरक्षा व्यवस्थामा थप चुनौती देखिन थालेको छ।

२०६७ मा स्थापना भएको यस इलाका प्रहरी कार्यालयमा स्थापना कालदेखि अहिलेसम्म पूर्ण दरबन्दी अनुसारको प्रहरी जनशक्ति खटाइएको इतिहास छैन।सुरक्षा आवश्यकतालाई ध्यानमा राख्दै पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि हालसम्म कुनै चासो देखाएको छैन । कैलाली जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नरेन्द्र बहादुर चन्दलाई यस विषयमा जानकारी गराइँदा “जतिसक्दो चाँडो थप प्रहरी खटाइने” आश्वासन दिइए पनि, हालसम्म १ जना मात्र प्रहरी थप गरिएको छ, जसले समस्या समाधानभन्दा बढी औपचारिकता पूरा गरेको भान गराउँछ।
जोशीपुर गाउँपालिका साविकका जोशीपुर र बौनिया गरी २ ओटा गा.वि.स. मिलाएर निर्माण गरिएको हो । यो पालिकामा ७ वटा वडा छन् र कुल क्षेत्रफ़ल ६५.५७ वर्ग किलोमीटर रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार यस गाउँपालिकाको कुल जनसंख्या ३७१८७ रहेको छ । जसमध्ये १९४३३ महिलाको संख्या छ भने १७७५४ पुरुष रहेका छन् । तर सुरक्षाको दृष्टिकोणले दरबन्दी अनुसारको २३ जना प्रहरी खटाएता पनि कम्पर्ने ठाउँमा उल्टै अहिले ६ जना प्रहरी खटाएर ईलाका प्रहरी कार्यालय वचाउ गर्ने काम मात्रै गरेको देखिन्छ
यति ठूलो जनसंख्या र सीमावर्ती क्षेत्र भएर पनि सुरक्षाको हिसाबले न्यून जनशक्तिका साथ प्रहरी कार्यालय संचालन भइरहनु गम्भीर विषय हो। हाल चोरी, डकैतीलगायतका आपराधिक क्रियाकलापहरू दिनप्रतिदिन बढ्दै गएका छन्। सीमावर्ती क्षेत्र भएकाले सामान ओसारपसारको चाप पनि अत्यधिक छ। तर, प्रहरी जनशक्ति अभावले गर्दा यस क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न थप चुनौती देखिएको छ।ईलाका प्रहरी कार्यालयमा कार्यरत ६ जना सुरक्षाकर्मीले सक्दो प्रयास गरिरहेका छन्, तर जनशक्ति अपुग भएकै कारण सुरक्षा व्यवस्थामा असर परिरहेको छ। यस्तो अवस्थामा सम्बन्धित निकायले चासो नदेखाउनु अझै चिन्ताजनक पक्ष बनेको छ।
प्रतिक्रिया दिनुहोस