बेलौरी, ०२असोज।कञ्चनपुरको बेलौरी नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित भएको दुई महिनाभन्दा बढी भइसके पनि वार्षिक योजना पुस्तिका (रातो किताब) प्रकाशन नगरेको भन्दै ११ जना नगरसभा सदस्यहरूले संयुक्त ध्यानाकर्षण पत्र बुझाएका छन्।
बेलौरी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष प्रकाश श्रेष्ठको नेतृत्वमा बिहीबार नगर उपप्रमुख जोगराम चौधरीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा रातो किताब समयमै नआउँदा विकास निर्माणका काम अवरुद्ध भएको, सेवा प्रवाह प्रभावित भएको र तलब–भत्तामै निर्भर कर्मचारी सहित विपन्न नागरिक मर्कामा परेको उल्लेख गरिएको छ।ध्यानाकर्षण पत्र बुझाउने क्रममा वडा नम्बर ७ का वडाध्यक्ष श्रेष्ठले नगरपालिकामा अहिलेसम्म पनि विषयगत समितिहरूको संयोजक तोक्न नसकिएको बताउँदै समयमै संयोजकहरू नतोकिँदा विषयगत समितिहरूले गर्नुपर्ने महत्त्वपूर्ण कामहरू समेत अलपत्र परेको समेत बताउनुभयो।

ध्यानाकर्षण पत्र बुझ्दै नगर उप प्रमुख चौधरीले ढिलाइ हुनुमा नगर प्रमुख काम विशेषले प्रायः बाहिर रहनु भएको र देशको विषम परिस्थिति कारण रहेको बताउनुभयो।पूँजीगत र चालु योजनाबारे असारमै टुङ्ग्याउने योजना थियो नगर प्रमुखबाट अहिलेसम्म कुनै जानकारी नआएपछि काम अगाडि नबढेको बताउँदै अबको एक–दुई दिनभित्रै सम्पूर्ण योजनाहरू SUTRA प्रणालीमा प्रविष्टि गरी नगरपालिकाको वेबसाइटमार्फत सार्वजनिक गर्ने र दशैँ लगत्तै रातो किताब छापेर सबैलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रतिक्रिया दिनुहोस