माधब पौडेल, ०८ भाद्र।उखु उत्पादक महासंघ नेपालको अगुवाइमा उखु किसानहरूले आफ्नो बाँकी अनुदान रकम भुक्तानीको माग गर्दै आईतबारदेखि माइतीघर मण्डलामा धर्ना सुरु गरेका छन्। किसानहरूले उखु नै बोकेर सडकमा धर्ना बसेका छन्।
सरकारले गत आर्थिक वर्षसम्म किसानलाई अनुदान बापतको रकम प्रति क्विन्टल रु ७०/- को दरले दिँदै आइरहेको थियो भने आर्थिक वर्ष २०८१/०८२ मा सरकारले अनुदानको रकम घटाएर प्रति क्विन्टल ३५ रुपैयाँ दिने घोषणा गरेको छ। किसानहरूले अनुदान बापतको प्रति क्विन्टल रु ७०/- को दरले पाउनुपर्ने माग गर्दै आइरहेका छन्।
देशभरिका १३ वटा जिल्लाका करिब ९ सय किसानहरू आन्दोलनमा सहभागी भएका छन।किसानहरूले आफ्ना माग पूरा नभएसम्म धर्ना र विरोध कार्यक्रम जारी राख्ने चेतावनी दिएका छन्। देशभरिमा १३ वटा सुगर मिलहरु छन।अनुदानको रकम समयमै नपाएको र पटक-पटक माग गर्दा पनि सरकारबाट कुनै स्पष्ट धारणा नआए पछि हामीले आन्दोलनको बाटो रोजेको कञ्चनपुर उखु हकहित संरक्षण समितिका अध्यक्ष हरि चन्द ठाकुरीले जानकारी दिनुभयो। हामीले राखेका मागको विषयमा सरकार गम्भीर नभए थप आन्दोलनको कार्यक्रम घोषणा गरिने भागेश्वर सुगर मिल उखु हकहित संरक्षण समितिका अध्यक्ष नारायण सिंह भण्डारीले जानकारी दिनुभयो।कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तारा लामा तामाङसँग उखु किसानले राखेका समस्याको विषयमा थप जिज्ञासा राख्न टेलिफोन सम्पर्क गर्दा उखु किसानको अनुदानसम्बन्धी विषयमा आफूले पटक–पटक संसदमा आवाज उठाएको बताउँदै किसानहरूले राखेका मागहरू जायज रहेको उल्लेख गर्दै यस विषयमा पुन:सरकार र अर्थमन्त्रीको ध्यानाकर्षण गराउने बताउनुभयो।

कञ्चनपुर क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले किसानहरूको समस्याका विषयमा आफू स्वयंम काठमाडौंमा रहेको बताउनुभयो।सरकारले उखु किसानलाई दिँदै आएको अनुदान रकम घटाएर किसानहरूलाई थप निराश बनाएको बताउनुभयो।सरकारले विगतका वर्षझैँ अनुदान रकम उपलब्ध गराउनुपर्ने समेत बताउनुभयो।
प्रतिक्रिया दिनुहोस