माधब पौडेल, कञ्चनपुर, २३ श्रावण । कञ्चनपुरको बेलौरीमा बिहीबार राती बाघले खोरबाटै तानेर तीन वटा बाख्रा मारेको छ । बेलौरी नगरपालिका वडा नम्बर २ दिनापुर बस्ने सन्तोष सिंह बोगटीका अनुसार बाघले २ वटा खसी र १ वटा बाख्रा मध्ये २ वटालाई खोरमै मारेर छोडेको र एउटा बाख्रालाई खोरबाट करिब १ सय मीटर पर उखुबारी भित्र लगी खाएको अवस्थामा फेला परेको बताउनुभयो । खोरको आसपासमा बाघका खुट्टाका छाप समेत देखिएको बताइएको छ ।

घटना स्थलमा पुगी सुरक्षाकर्मीले सर्जमिन मुचुल्का तयार गरेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिनुभयो । उखुको बाक्लो खेती रहेको उक्त क्षेत्रमा पछिल्लो समय बाघको शिकार घरपालुवा जनावर हुन थालेका छन् । जसका कारण स्थानिय त्रसित बनेका छन् । केही महिना अगाडि वडा नम्बर २ कै टेडुवामा एकजनाको गोठमा बाधेको गाईको बाच्छो खाएपछि वन कार्यालय तथा सुरक्षाकर्मीले नियन्त्रणमा लिएर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छोडेको थियो ।
प्रतिक्रिया दिनुहोस